विराटनगर : मोरङ प्रहरीले महानगरका वरिष्ठ नागरिकहरुसँग राय सल्लाह लिन सुरु गरेको छ । महानगरका विद्यमान समस्याहरु के के हुन् ? प्रहरीले गरेका कामकारबाहीहरु ठीक छन् कि छैनन् ? प्रहरीले के कस्ता कामहरु गर्न आवश्यक छ ? आदि विषयमा रायसल्लाह लिन लागिएको प्रहरीले बताएको छ ।
मोरङको प्रहरी प्रमुख भएर प्रहरी उपरीक्षक मनोज केसी आएपछि प्रहरी संगठनको छवि सुधार्नुका साथै सर्वसाधारणको जीउ, धनको रक्षा गर्न र आवश्यक परेको बेला तुरुन्तै प्रहरी सेवा उपलब्ध गराउन त्यस किसिमको छलफल कार्यक्रम सुरु गरिएको हो । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।
प्रहरी उपरीक्षक केसीका अनुसार मोरङका हरेक इलाका प्रहरी कार्यालयले समुदायसँग चिया कार्यक्रम सुरु गरेका छन् । प्रहरी समुदायमै जाने र उनीहरुसँग चिया पिएर अनौपचारिक रुपमा समस्याहरु बुझ्न सो कार्यक्रमको थालनी गरिएको हो ।