२६ मंसिर, काठमाडौं ।
नेपाली हवाई सेवा यूरोपेली यूनियनको कालोसूचिबाट बाहिर निस्किन फेरि पनि असफल भएको छ । यसले गर्दा नेपालभित्र दर्ता भएर सञ्चालनमा रहेका सबै वायुसेवा कम्पनी अझै कम्तीमा ६ महिना युरोपको आकाशमा उड्न नपाउने भएका छन् ।
यूरोपेली यूनियनले यसै साता संसारभरका वायुसेवा कम्पनीका सम्बन्धमा अपडेट गरेको सुरक्षा सूचीमा नेपाललाई निरन्तरता दिएको हो । सन् २०१३ देखि ईयूको कालोसूचीमा रहेको नेपाललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चाँडै सुचीबाट निस्किने दावी गरेका थिए ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको गम्भीर सुरक्षा चासोको सूचीबाट हटिसकेका कारण यस पटक नेपाल ईयूको सुरक्षा सूचीबाट पनि हट्ने अपेक्षा सरकारको थियो । तर, ईयूले यस पटक पनि नेपाललाई निराश बनाएको छ । इयूले हरेक ६–६ महिनामा यस्तो सूची अपडेट गर्छ ।
नेपालबाहेक अफगानिस्तान, अंगोला, कंगो, लिबिया, सुडान, नाइजेरियालगायत मुलुकका वायुसेवा यस सूचिमा छन् । सूचिमा अधिकांश द्वन्द्वग्रस्त मुलुकका वायुसेवा समावेश छन् । तर, नेपाल भने शान्तिपूर्ण वातावरणमा पनि कालोसूचिबाट उम्कन असफल भएको छ ।