रातो मच्छिन्द्रनाथलाई गुप्तबासबाट निकालेर मर्मत सम्भार थालियो

901SHARES

२२ बैशाख, काठमाडौं । महास्नान गरेर गुप्तबासमा राखिएको ललितपुरको रातो मच्छिन्द्रनाथलाई गुप्तबासबाट निकालेर मर्मत सम्भारको काम थालिएको छ ।

गएको बैशाख १५ गते महास्नान गरेर सात दिनसम्म गुप्तबासमा राखिएकोमा हिजो मूर्तिलाई गुप्तबासबाट निकालेर मर्मत सम्भारको कार्य थालिएको पुजारी कपिल बज्राचार्यले बताए ।

हरेक वर्ष बैशाख कृष्ण प्रतिपदाका दिन महास्नान गरेर रातो मच्छिन्द्रनाथलाई ७ दिनसम्म गुप्तबासमा राख्ने गरिन्छ । बज्राचार्यका अनुसार मूर्तिलाई मर्मत सम्भार सकाएर आउँदो आइतबारदेखि रंगरोगनको काम थालिनेछ ।

यसपालि रातो मच्छिन्द्रनाथलाई २९ गते रथारोहण गरेर जेठ १ गतेदेखि रथयात्रा गरिनुपर्ने पात्रोमा उल्लेख गरिएको छ । गएको वर्ष कोरोना सङ्क्रमण जोखिमका बीच स्वास्थ्य मापदण्ड पालना गरेर रथयात्रा गरिएकोमा यो वर्ष पनि त्यसरी नै रथयात्रा गर्नको लागि तयारी थालिएको छ ।

रातो मच्छिन्द्रनाथको रथ निर्माणको काम ५० प्रतिशत सकिएको छ । मच्छिन्द्रनाथको रथ निर्माण ५० प्रतिशत सकिएको रथ निमार्णमा संलग्न दिलकुमार बाराहीले बताए ।

काठमाण्डौ उपत्यकामा जारी निषेधाज्ञा बीच स्वास्थ्य मापदण्ड पालना गरेर पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ निर्माण भइरहेको हो । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ निर्माण गएको बिहीबार थालिएको हो ।

यसैबीच दोलखाको रातो मच्छिन्द्रनाथको यात्रा हिजो सकिएको छ । दोलखाको रातो मच्छिन्द्रनाथको मूर्तिलाई रथमा राखेर दोलखाको विभिन्न क्षेत्रमा तानिने परम्परा भएपनि यसवर्ष कोरोना महामारीका कारण खटमा राखेर धार्मिक विधि पूरा गरिएको हो । खटयात्रा पूरा गरेर मूर्तिलाई हिजो नै डोकलुङ्गा टोलमा रहेको मन्दिरमा भित्र्याइएको छ ।

छुटाउनुभयो कि?

सम्पूर्ण