२९ भदौ, काठमाडौं ।
राष्ट्रिय क्रिकेट टिमका सदस्य ललितसिंह भण्डारी मोटरसाइकल दुर्घटनामा परेका छन् । आईतबार कञ्चनपुरमा ट्रकले उनी सवार मोटरसाइकललाई ठक्कर दिएको हो ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ ख १३२४ नम्बरको मिनी ट्रकले विपरित दिशाबाट आउँदै गरेको भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा भण्डारीको टाउको, कम्मर र हातमा चोट लागेको छ ।
घटनामा मोटरसाइकलको पछाडि बस्ने करण ठगुन्ना पनि घाइते छन् । दुवै जनाको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेकोमा भण्डारीलाई थप उपचारको लागि कोहलपुर मेडिकल कलेज लागिएको छ । भण्डारीको स्वास्थ्य अवस्था मध्यम रहेको जनाईएको छ । ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेकाे कञ्चनपुरका डीएसपी अमर थापाले बताए ।
२०१७ विश्व क्रिकेट लिग च्याम्पीयनसिपमा अमेरिका बिरुद्ध डेब्यु गरेका भण्डारीले २०१८ मा नेपालको लागि नेदरल्याण्ड बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्दै नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय जितमा २ विकेट लिएका थिए। पछिल्लो समय चोटका कारण राष्ट्रिय टोलीबाट बाहिर रहेका छन् । नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्दै आएका उनी फ्रेन्चाइज लिगमा नियमित खेलिरहेका खेलाडी हुन् ।