तिलोत्तमा, रुपन्देही, १२ मंसिर ः प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसले राणाशासन र राजाको तानाशाही व्यवस्था फालेर ल्याएको लोकतन्त्र अहिले पुनः वाम गठबन्धनको नाममा संकटमा परेको भन्दै लोकतन्त्र बचाउन नेपाली काँग्रेसलाई बहुमत दिन आग्रह गर्नुभएको छ ।
नेपाली काँग्रेस क्षेत्र नं ५ रुपन्देहीले निर्वाचन क्षेत्र नं ५ को सालझण्डीमा आज आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले अहिले लोकतन्त्र बचाउन पनि नेपाली काँग्रेससहितको प्रजातान्त्रिक शक्तिलाई बहुमतले विजयी बनाउन अनुरोध गर्नुभयो ।
उहाँले मुलुक दुई ध्रवमा विभाजित भएको उल्लेख गर्दै वाम गठबन्धनको नाममा कम्युनिष्ट तानाशाही शासन व्यवस्था लाद्न खोज्ने नेकपा (एमाले) र माओवादीको दुष्प्रयास कुनै पनि अवस्थामा पूरा हुन नदिन जनता सचेत हुनुपर्ने समय आएको बताउनुभयो ।
विश्वमा कम्युनिष्ट तानाशाही शासन व्यवस्था सफल नभएको बताउँदै उहाँले नेपालमा वाम गठबन्धनको नाममा लोकतन्त्र समाप्त गर्न भइरहेको प्रयास कदाचित सफल हुने छैन भन्नुभयो ।
नेपाली काँग्रेसले झुटा नारा लगाएर होइन कि वास्तविक रुपमै जनताको सेवक बनेर काम गर्न चाहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले काँग्रेसको बहुमतको सरकार आएपछि सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने, बेरोजगार युवालाई बेरोजगार भत्ता दिने र सुकुम्बासी समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनका नेता केपी ओली र प्रचण्डले कम्युनिष्ट शासन ल्याई संविधान फेर्न खोजेर देशलाई अनिश्चिय र अनिष्टतर्फ धकेल्न खोजेको आरोप लगाउनुभयो ।
उहाँले अहिलेको जमाना कम्युनिष्टको नभई लोकतन्त्रको भएको बताउँदै दुनियाँबाट लोप हुन लागेको कम्युनिष्टलाई झुक्किएर पनि मतदान नगर्न अनुरोध गर्नुभयो ।
नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले कम्युनिष्ट शासन व्यवस्था ल्याउने भन्दै वाम गठबन्धनले अहिले गरिरहेको प्रयास जनताले कदापि सफल हुन नदिने बताउँदै दुनियाँमा लोकतन्त्रको विकल्प नभएकाले जनताले लोकतान्त्रिक शक्तिलाई भारी बहुमतले विजयी बनाउने बताउनुभयो ।
उहाँले अब मुलुकमा राजनैतिक मुद्दा समाप्त भएर साँचो अर्थमा आर्थिक क्रान्ति गर्ने समय आएको बताउँदै लोकतान्त्रिक व्यवस्थामा मात्र आर्थिक क्रान्ति हुने भएकाले नेपाली काँग्रेसलाई विजयी बनाउन अनुरोध गर्नुभयो ।
बिपीले देखेको सपना पूरा गर्ने समय बल्ल आएको बताउँदै महामन्त्री कोइरालाले लोकतन्त्रको माध्यमबाट आर्थिक क्रान्ति गरेर देशलाई समृद्ध बनाउने र जनतालाई धनी बनाउने काँग्रेसको अभियानमा साथ दिन मतदातासँग आग्रह गर्नुभयो ।
नेपाली काँग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक तथा काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले कम्युनिष्ट शासन आएमा देशमा अशान्ति, अस्थिरता र बेरोजगारी सिर्जना भई देश नै सिंगो जेलमा परिणत हुने बताउनुभयो ।
उहाँले संसारभर लोप हुन लागेको कम्युनिष्ट शासन नेपालमा ल्याउन खोज्नु मूर्खता रहेको बताउँदै विविधताले भरिएको देशमा तानाशाही व्यवस्थाको कल्पना गर्नु दिवास्वप्न हुने बताउनुभयो ।
उद्योगपति विनोद चौधरीले नेपाली काँग्रेसले २०४८ सालमा सरकारको नेतृत्व गरिरहँदा ल्याएको आर्थिक नीतिले देशलाई अहिलेसम्म पनि विकासको गतिमा डो¥याएको बताउँदै अझै अधुरो रहेको विकासका काम नेपाली काँग्रेसको सरकारलाई बहुमत दिएर पूरा गर्न सबैसँग आग्रह गर्नुभयो । लोकतन्त्रमा मात्र अर्थतन्त्र सुदृढ हुने बताउँदै उद्योगपति चौधरीले काँग्रेसको खुला अर्थनीतिको विकल्प अरू कुनै व्यवस्था हुनै नसक्ने दाबी गर्नुभयो ।
नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं ५ का प्रतिनिधिसभाका उम्मेदवार भरत शाहले यस क्षेत्रका जनताले आफूलाई दुई–दुई पटक जिताएकामा धन्यवाद ज्ञापन गर्दै अब फेरि पनि अधुरा रहेका विकासलाई पूरा गर्न र सुकुम्वासी समस्या समाधान गर्न आफूलाई विजयी बनाउन मतदातासँग अनुरोध गर्नुभयो ।
काँग्रेसले थाल्यो गाउँगाउँमा मतदाता शिक्षा
नेपाली काँग्रेसले रुपन्देहीको क्षेत्र नं १ मा घरदैलोसँगै मतदाता शिक्षा कार्यक्रमलाई सञ्चालन गरेको छ ।
काँग्रेसले अन्य चुनावमा भन्दा प्रदेश र प्रतिनिधिसभाको चुनावको मतपत्र फरक भएकाले आम मतदातालाई बुझाउनका लागि मतदाता शिक्षालाई वडावडामा सञ्चालन गरेको जनाएको हो ।
अहिलेको चुनावमा प्रतिनिधिसभा सदस्यका उम्मेदवारलाई भोट हाल्ने र प्रदेशसभा सदस्यका लागि मत हाल्ने मतपत्र फरक फरक हुने भएकाले मतपत्रको प्रकार, रंग र स्वस्तिक चिह्न लगाउने बारे जानकारी गराउनका लागि गाउँगाउँमा मतदाता शिक्षा कार्यक्रम गरिएको काँग्रेस रुपन्देही क्षेत्र नं १ निर्वाचन परिचालन तथा प्रचारप्रसार संयोजक हीराबहादुर खत्रीले जानकारी दिनुभयो ।
रासस