३ असार, काठमाडौँ ।
कोरोनाको संक्रमणका कारण अलपत्र परेका बंगलादेशमा रहेका १ सय ५५ जना नेपाली काठमाण्डौ आइपुगेका छन् । त्यहाँ समस्यामा परेका नेपालीहरु हिमालय एअरलाइन्सबाट बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।
फर्कनेमा ३६ महिला ११९ पुरुष र २ जना दुई वर्ष मुनीका बालबािलका रहेका छन् । हिमालय एअरलाइन्स ढाकातर्फ बिहान ८ बजेर १५ मिनेटमा ७ जना नेपाली र ९ जना विदेशी नागरिक लिएर उडेको थियो । यसअघि शुक्रबार ढाकाबाट २५८ जना नेपाली स्वदेश फर्किएका छन् । बुधबारै कुवेतबाट १ सय ५० जना महिला पनि स्वदेश फर्किसकेका छन् । उनीहरुलाई जजिरा एअरले कुवेतबाट नेपाल ल्याइदिएको हो ।
कुवेत सरकारले त्यहाँ आममाफीमा सहभागी नेपालीलाई आफ्नै खर्चमा काठमाडौँसम्म ल्याइदिएको हो । बुधबारै सिङ्गापुर र थाइल्याडको बैंककबाट पनि केही नेपालीहरु स्वदेश फर्कदै छन् । कुवेतबाट थप १५० जना बिहीबार स्वदेश फर्कने भएका छन् । आममाफीमा सहभागी १५० जना जजिरा एअरमार्फत स्वदेश फर्कने छन् ।