विदेशमा रहेका १ लाख १० हजारभन्दा धेरै नेपालीमा कोरोना सङ्क्रमण

493SHARES

२६ जेष्ठ, एजेन्सी ।
विभिन्न ५४ देशमा रहेका १ लाख १० हजारभन्दा धेरै नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

गैर आवासीय नेपाली सङ्घ एनआरएनएको स्वास्थ्य समितिको पछिल्लो तथ्याङ्क अनुसार अहिलेसम्म ५४ देशमा रहेका १ लाख १० हजार १ सय ९६ जना नेपालीमा कोरोना सङ्क्रमण भएको हो ।

सङ्क्रमित मध्ये ९३ प्रतिशत अर्थात् १ लाख ६ हजार ८ सय २३ हजार सङ्क्रमण मुक्त भइसकेका छन् । सङ्घका अनुसार गएको दुई हप्तामा भारत, माल्दिभ्स, साउदी अबर, कतार लगायतका देशमा रहेका नेपालीमा थप कोरोना सङ्क्रमण देखिन थालेको हो ।

यस्तै, पछिल्लो समय फेरि कोरोनाको कारण ज्यान गुमाउने नेपालीको सङ्ख्या बढ्न थालेको छ । गएका दुई हप्तामा मात्रै थप १३ जना नेपालीको कोरोनाको कारण ज्यान गएको छ ।

एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार साउदी अरबमा ७ जना, भारतमा ५ र कतारमा १ जना नेपालीको कोरोना भाइरसको कारण ज्यान गएको हो ।

सङ्घले सङ्कलन गरेको तथ्याङ्क अनुसार अहिलेसम्म भारतसहित विश्वभर २८ देशमा रहेका ४ सय ३५ जना नेपालीको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ ।

गैर आवासीय नेपाली सङ्घले कोरोना भाइरसको महामारी सुरु भएदेखि नै विदेशमा रहेका नेपालीमा सङ्क्रमणको अवस्थाबारे तथ्याङ्क सङ्कलन गर्दै आएको जनाएको छ ।

विदेशमा रहेका नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, सङ्घसंस्था र सङ्घका शाखाद्वारा स्वास्थ्य समितिले नेपालीहरूको तथ्याङ्क सङ्कलन गरिरहेको छ ।

छुटाउनुभयो कि?

सम्पूर्ण