१ जेठ, जनकपुर । प्रदेश नं २ का आठै जिल्लाको विद्युत् प्रसारण र वितरण प्रणाली सुधार गर्न ठेक्का सम्झौता गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरण र टाटा प्रोजेक्ट लिमिटेडबीच प्रदेशमा ग्रामीण विद्युतीकरण आयोजना कार्यान्वयनका लागि करीब रु चार अर्बको ठेक्का सम्झौता भएको हो ।
प्राधिकरणले गरेको अन्तरराष्ट्रिय टेन्डरमा टाटा प्रोजेक्ट, भारतले ठेक्का पाएको हो । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन हुने आयोजनालाई पाँच चरणमा विभाजन गरिएको छ ।
प्रदेशको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन आधुनिक उपकरणसहितका ३३÷११ केभी, १६ दशमलव छ एमभिए क्षमताका आठवटा सबस्टेशनको निर्माण गरिने निर्देशनालयले जनाएको छ ।
यसैगरी ३३÷११ केभी, आठ एमभिए क्षमताका दुईवटा सबस्टेशनको निर्माण गरिनेछ । ती सबस्टेशनको क्षमता १४८ दशमलव आठ एमभिए हुनेछ ।
साथै प्रदेशका जिल्लामा ३२३ सर्किट किलोमिटर ३३ केभी प्रसारण लाइन, ९५० सर्किट किलोमिटर ११ केभी लाइन र एक हजार सर्किट किलोमिटर ४०० भोल्टको नयाँ लाइन निर्माण गरिनेछ ।
आयोजना कार्यान्वयनका लागि नर्वे सरकारले तीन करोड ५० लाख अमेरिकी डलर अनुदान उपलब्ध गराएको छ । यो अनुदान एसियाली विकास बैंक मार्फत सञ्चालित हुनेछ ।