विराटनगर, फागुन १७
विराटनगर महानगरपालिका वडा नम्बर ६ सरौचियाका स्थानीयबासी करिब २५ वर्ष पछि सडक कालोपत्रे भएपछि हर्षित बनेका छन् । यसअघि जीर्ण बनेको स्थानीय हाजी चौक आसपास तथा तेन्जिङ मार्ग लगायतका सरौचियाका अधिकांश सडकमा नाला निमार्णपछि अहिले धमाधम कालोपत्रेको काम भईरहेको छ ।
सडकका कारण हिलो र धुलोको पीडा खेप्दै आएका स्थानीयबासी घरछेउको सडक कालोपत्रे भएपछि हर्षित बनेका हुन् । विराटनगर– ६, सरौचियामा शुक्रबार सडक कालोपत्रे हुँदै गर्दा स्थानीयहरु छेऊमा हर्षका साथ उभिएका देखिन्थे । विराटनगर– ६ सरौचिया निवासी रवि रोयले सडक कालोपत्रे हुँदा धेरै खुसी लागेको बताए । आफु सानो हुँदा कालोपत्रे भएको स्मरण गर्दै उनले झण्डै २५ वर्षपछि सडक निर्माण भएकोमा खुसी व्यक्त गरे ।उनले भने‘पहिले त नर्क थियो कालोपत्रे भएपछि अब धेरै राम्रो भयो ।’
सडक खाल्डाखुल्डी हुँदा र जीर्ण हुँदा वर्षातको हिलो र हिउँदको धुलोले स्थानीयलाई सताउँदै आएको थियो । उनीहरुले पहिले पनि सडक निर्माण गर्ने योजना आएको तर कार्यान्वयन अहिले भईरहेको बताएका छन् । विराटनगर– ६ का डाइडा पुटिनले पनि सडक बन्नु अत्यन्तै राम्रो भएको बताए । उनले भने‘वर्तमान स्थानीय सरकारले काम गर्दैछ । योजना पहिल्यै थियो, अहिले पूरा भईरहेको छ । स्थानीय सरकारलाई धन्यवाद भन्नुपर्छ ।’
हाल विराटनगर महानगरपालिकाका विभिन्न वडाका सडक सञ्जाल तथा नाला निर्माणमा एसियाली विकास बैकको सहयोगमा क्षेत्रीय सहरी विकास परियोजनाको काम भईरहेको छ । सो परियोजनाको काम २०१९ नोभेम्बर १ मा सम्पन्न गर्ने गरी करिब २ अर्ब ६१ करोड १० लाख रुपैँयामा चाईनिज कम्पनी झोङहाङ कन्ट्रक्सन बेइजिङसँग सम्झौता भएको छ । २ नोभेम्बर २०१७ बाट काम थालिएको सो परियोजनाको यसै आर्थिक वर्षमा ९० प्रतिशत भौतिक प्रगति गरिसक्ने महानगरपालिकाको योजना रहेको छ ।
सडक कालोपत्रे भएकोमा खुसी भएका स्थानीय यसको गुणस्तरीयता भने हेर्न बाँकी नै रहेको बताउँछन् । विराटनगर– ४ का अकरम खानले कालोपत्रे भएकोमा आफुहरु खुसी भएको बताउँदै यसको गुणस्तरीयता भने हेर्न बाँकी नै रहेको बताए । उनले भने–‘धेरै वर्षपछि सडक कालोपत्रे भईरहेको छ अहिले नराम्रो भन्न मिल्दैन तर कतिको गुणस्तरीय छ भन्ने कुरा पानी परेपछि केही समयपछि थाहा हुन्छ ।’ महानगरले सडक बनाएर छोड्ने मात्रै हैन विभिन्न तरिकाले ब्यबस्थित राख्नुपर्ने उनको भनाई छ ।