विराटनगर, माघ २५
आज बिहानैदेखि विराटनगर लगायत देशका विभिन्न ठाउँमा वर्षा भएको छ । भूमध्यसागर हुँदै बलियो पश्चिमी न्यूनचापीय प्रणाली नेपाल भित्रिएपछि मुलुकभरको मौसम बदली भएको छ । मौसम बदलीसँगै मुलुकभर पानी परेको छ भने हिामली क्षेत्रमा पुनः हिमपात भएको छ ।
पश्चिम भेगका कम उचाइमा पनि बाक्लो हिमपात भएको छ भने उच्च र हिमाली भागमा दुई फिटसम्म हिउँ परेको छ ।उत्तर पश्चिमी भारत हुँदै भित्रिएको प्रणालीले मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।
पश्चिमी वायु पश्चिम क्षेत्रबाटै आउने भएकाले सबैभन्दा प्रभाव पनि पश्चिममा परेको देखिएको छ । पश्चिमको बिरेन्द्रनगरमा सबैभन्दा धेरै २२ मिलिमिटर पानी परेको छ । काठमाडौंमा पनि शुक्रबार बिहानैदेखि मौसम बदली भई चिसो बढेको छ । पूर्वी भागमा भने पूर्ण बदली भएको छैन ।
शुक्रबार देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने र केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार मध्य र पूर्वी क्षेत्रको तुलनामा पश्चिम क्षेत्रको तापक्रममा एकाएक गिरावट आएको छ ।
शनिबार पश्चिमी भेगमा मौसममा आंशिक बदली हुने तथा मध्य र पूर्वका केही स्थानमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ । यसैबीच, बाढी पूर्वानुमान महाशाखाले उच्च पहाडी क्षेत्रमा भारी हिमपात र पहाडी क्षेत्रमा ठूलो वर्षा हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।