व्यवहारिक रुपमा अपूर्ण देखिए संविधान संशोधनः प्रधानमन्त्री

0SHARES

२ आश्विन २०७७ नेपाल टाईम्स

२ असोज, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन । ‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल, २०१५’ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले स्थिरता र स्थायित्वका नाममा संविधान संशोधन नरोकिने बताएका हुन् ।

व्यवहारिक रुपमा संविधान अपूर्ण रहेको देखिएमा संविधानको संशोधन गर्न सकिने उनको भनाई छ । जनताको आवश्यकता र समयको मागअनुसार परिवर्तनको गतिलाई अगाडी बढाउन पनि संशोधन आवश्यक पर्न सक्ने प्रधानमन्त्री ओलीले बताए । उनले भने, ‘‘केही केही व्यवहारका क्रममा भोली गएर अपूर्णता पनि देखिएला । जनताको आवश्यकतालाई समयको माग अनुसार परिवर्तनको गतिलाई अगाडी बढाउनका लागि न्याय, समानता वा विकासलाई यथोचित ढंगले परिमार्जन गर्न संविधान संशोधन हुन आवश्यक पर्न सक्छ । त्यस्तो प¥यो भने संविधान संशोधन हुन्छ । यो अपरिवर्तनशिल र असंशोधनिय चिज होइन । स्थिरता र स्थायित्वका नाममा अपरिवर्तनशिल विषय होइन ।’’ संविधान दिवसको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले प्रणालीगत, संरचनागत र कानूनी पक्षका हिसाबले पनि जनता र देशको आवश्यकता अनुसार संशोधन गर्न सकिने बताए । उनले आवश्यक देखिएमा संविधान संशोधनका लागि सबै तयार हुनुपर्ने बताए । उनले भने, ‘संविधान संशोधनका लागि हामी सबै खुला दिमाग राखेर बिना बहकाउ तयारी रहनुपर्छ ।’

पाँचौ संविधान दिवसको अघिल्लो दिन प्रधानमन्त्री ओलीले ६ सय ४६ पृष्ठको ‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल, २०१५’ पुस्तक विमोचन गरेका हुन । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रधानमन्त्री निवासमा भएको पुस्तक विमोचनमा भौतिक दुरी कायम गरिएको थियो ।

विज्ञापन बक्स