शरिफ अदालत उपस्थित

66SHARES

इस्लामावाद, १७ कात्तिक
भ्रष्टाचार प्रकरणमा संलग्न रहेको आरोपमा अदालतको छानबीनको दायरामा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफ शुक्रबार सुनुवाईका लागि अदालत उपस्थित हुनुभएको छ ।

भ्रष्टाचारको आरोप लागेपछि उहाँलाई गएको जुलाई महिनामा प्रधानमन्त्रीबाट पाकिस्तानी सर्वाेच्च अदालतको आदेशमा हटाइएको थियो । पूर्व प्रधानमन्त्री शरिफ भ्रष्टाचार विरोधी अदालतमा शुक्रबार हुने सुनुवाईमा सहभागी हुनका लागि भन्दै बिहीबार मात्र लण्डनबाट स्वदेश फिर्ता हुनुभएको थियो ।

उहाँलाई यहाँको भ्रष्टाचार हेर्ने अदालतले अदालत उपस्थित हुन शुक्रबारको समय दिएको थियो । त्यसैले उहाँ हिजो नै स्वदेश फर्किनुभएको हो ।

पाकिस्तानको राजधानी इस्लामावादबाट प्राप्त समाचारअुनसार उहाँ शुक्रबार बिहान विशेष सुरक्षा व्यवस्थाका साथ अदालत उपस्थित हुनुभएको थियो । उहाँलाई अदालतले यही नोभेम्बर ७ मा उपस्थितिका लागि अर्काे म्याद दिएको उहाँका वकिलले जानकारी दिएका छन् ।

अदालत जाँदै गर्दा उहाँको सुरक्षाका लागि विशेष व्यवस्था गरिएको र अदालत उपस्थित हुने र निस्किने क्रममा उहाँले प्रेसलाई कुनै प्रतिक्रिया नदिनुभएको बताइएको छ ।

स्रोत नखुलेको धेरै सम्पत्ति जम्मा गरेको आरोप उहाँमाथि छ । प्रधानमन्त्रीबाट राजिनामा दिएर अनुसन्धान प्रक्रियालाई सघाउने ६७ बर्षीय शरिफले बताउनुभएको थियो ।

पाकिस्तानी सर्वाेच्च अदालतले उहाँ प्रधानमन्त्री हुन अयोग्य भएको फैसला गरेपछि उहाँले राजिनामा दिनुभएको हो । पाकिस्तानको निर्वाचनसम्बन्धि कानूनमा भ्रष्टाचारको अनुसन्धानमा परेको व्यक्तिले कुनैपनि दलको सदस्य वा पार्टी प्रमुख हुन नपाउने प्रावधान छ ।

शरिफकी पत्नी कुलसुम नवाजलाई घाँटीको क्यान्सर भएकोले उपचारका लागि भन्दै गत महिना लण्डन जानुभएको थियो । उहाँ स्वदेश फर्किएको समाचार यहाँको सरकारी टेलिभिजनले प्रसारण गरेको थियो ।

बिहीबार साँझ फर्किनुभएका उहाँ विमानस्थलबाट आफ्नो निजी सवारी साधनमा इस्लामावादस्थित पञ्जाव हाउसमा पुग्नुभएको थियो । उहाँलाई सो हाउसमा उहाँका ठूलो सङ्ख्याका समर्थकहरूले स्वागत गरेका थिए ।
रासस

छुटाउनुभयो कि?

सम्पूर्ण