शुल्क उठाउने नाममा निजी विद्यालयको बदमासी !

0SHARES

११ असार २०७७ नेपाल टाईम्स

काठमाडौं : कोरोना भाइरसका कारण सबै तहका विद्यालयको पठनपाठन बन्द रहेका बेला ललितपुरको एउटा निजी विद्यालयले भने यातायात शीर्षकमा समेत रकम तोकेर अभिभावकलाई बिल पठाएको छ । कोरोना भाइरसका कारण मुलुकले लकडाउनको समस्या झेलिरहेका बेला ललितपुरस्थित युलेन्स स्कुलले यातायात शीर्षकमा समेत रकम तोकेर बिल पठाएको हो ।

पछिल्लो समयमा निजी विद्यालयले पठनपाठन नभए पनि रकम तिर्न अभिभावकसँग ताकेता गरिरहेका छन् । निजी विद्यालयको यो कदमको चर्काे आलोचना भइरहेको छ । कतिपय निजी विद्यालयले त खानाको रकम पनि बिलमा जोडेका छन् ।

युलेन्स स्कुलले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई पठाएको बिलमा यातायात खर्च शीर्षकमा १० हजार चार सय रुपैयाँ राखिएको छ । वैशाख, जेठ र असार गरी तीन महिनाको भनेर सो रकम जोडिएको हो । तर, लकडाउनका कारण भने विद्यार्थीले एक दिन पनि सो स्कुलको गाडी चढेका छैनन् ।

अभिभावकलाई पठाइएको बिलमा ब्रेकफास्ट, ल्याब शुल्क, फिल्ड ट्रिपलगायत शीर्षकमा पनि रकम तोकिएको छ । युलेन्स स्कुलका प्रिन्सिपल मेदिन लामिछानेले विद्यार्थीसँग यातायात शुल्कबापत कुनै रकम नलिएको दाबी गरे । तर, उनको यो दाबीमा भने कुनै सत्यता भेटिँदैन । कक्षा ११ का विद्यार्थीको नाममा पठाइएको बिलमा यातायात शुल्क भनेर स्पष्ट किटान गरिएको छ ।, यो समाचार आजको राजधानी दैनिकमा छापिएकाे छ ।

विज्ञापन बक्स