२२ असोज, सुनसरी ।
सुनसरीको इटहरीस्थित एक घरमा श्रीमान्, श्रीमती र छोरी मृत फेला परेका छन् ।
दसैँको टीकाको दिन सुनसरी–१७ स्थित घरमा श्रीमान् राजेश शर्मा, उनकी श्रीमती पुनम र छोरी स्वस्तीका मृत भेटिएका हुन् ।
श्रीमान् झुण्डिएको अवस्थामा फेला परेका छन् भने श्रीमती र छोरीको शव बाकस र बोरामा हालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा ४२ वर्षका श्रीमानले श्रीमती र छोरीको हत्या गरेर आफूले आत्महत्या गरेको हुन सक्ने देखाएको सुनसरीका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले बताए ।
एसपी पोखरेलका अनुसार सुरुमा गाउँलेले राजेशलाई झुण्डिएको देखेपछि अस्पताल लगेका थिए ।
अस्पतालमा चिकित्सकले उनलाई मृत घोषित गरेपछि शव घरमा लगिएको थियो र शव बेर्नका लागि कपडा खोज्ने क्रममा टिनको बाकस खोल्दा मृतककी श्रीमती पुनमको शव भेटियो ।
६ वर्षीया छोरी स्वस्तीकाको शव पनि बोरामा हालेर मुख बाँधेको अवस्थामा फेला परेको एसपी पोखरलेलले बताए । उनका अनुसार श्रीमतीको टाउकोमा चोट छ भने छोरीको घाँटी च्यापेर हत्या गरिएको देखिन्छ ।
‘राति अथवा बिहान झगडा भएपछि सुरुमा श्रीमतीको हत्या भयो, त्यसपछि छोरीको पनि’, एसपी पोखरेलले भने ‘शव व्यवस्थापनका लागि अधिकतम प्रयास गर्न खोजेको देखिन्छ, सम्भव नभएपछि राजेशले पनि आत्महत्या गरे जस्तो छ ।’
मृतक श्रीमान् श्रीमतीबीच लामो समयदेखि झगडा चलिरहेको थियो । एसपी पोखरलेका अनुसार दुवैबीच केही समय अघि मात्रै प्रहरीमा मिलापपत्र समेत भएको थियो ।