सडक निर्माण रोकिएपछि जामुनगाछीका स्थानीय आन्दोलित

0SHARES

१४ पुष २०७५ नेपाल टाईम्स

विराटनगर,पुस १४
लामो समयदेखि सडक र नालाको निमार्णकार्य रोकिएपछि विराटनगर महानगरपालिका वडा नं ४ र ५ का स्थानीयबासी विरोधमा उत्रिएका छन । एक हप्ताभित्र सडक तथा नालाको काम अगाडि नबढाए सडक जाम गरेर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

विराटनगर महानगरपालिकाको वडा नं ४ र ५ को सीमामा एकवर्ष अघिदेखि रोकिएको निर्माणको काम अघि नबढेपछि स्थानीयले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी निर्माण अघि नबढे आन्दोलन गर्ने चेतावनी दिएका हुन् । जामुनेश्वर मार्गमा एसियन विकास बैैंकको सहयोगमा मझौला शहरको एकीकृत वातावरणीय सुधार परियोजना अन्तर्गत सडक नाला निर्माणको काम भईरहेको थियो ।

निर्माणकै क्रममा नियमविपरीत महानगरपालिकाले आफ्नो घर मिचेर सडक बनाउन खोजेको भन्दै केही स्थानीयले महानगरपालिका विरुद्ध नै मुद्धा दायर गरेका थिए । उच्च अदालत विराटनगरले आफ्नो नम्बरी जग्गाभित्र सडक बनाउन खोजेको दाबी गर्ने घरधनी र महानगरपालिकालाई छलफलमा बोलाई ४ घरले दाबी गरेको जग्गा बाहेकका ठाउँमा निर्माण कार्य गर्न मिल्ने बताएको थियो । तरपनि गत फागुन पछि ठप्प भएको निर्माणको काम अहिलेसम्म सञ्चालन हुन सकेको छैन ।

 

पुलचोक देखि नहरसम्म निर्माण ठप्प भएको सो २५ मिटरको सडकको काम अघि बढाउनुपर्ने स्थानीयबासीको माग रहेको छ । सडक छेउको नाला निर्माणको क्रममा भएका खाल्डा तथा जिर्ण सडकका कारण आफुहरुलाई असर परेको स्थानीयहरु बताउँछन् । घरमा भएका स–साना बालबालिकाहरु खाल्डोबाट पटक पटक लडेको र त्यस छेउको एक घर पनि ढल्ने अवस्थामा पुगेको स्थानीयबासीहरु बताउँछन् ।

बाटो बनाउन नगरपालिकाले केही पहल नगरेको स्थानीय लक्ष्मी थापाले गुनासो गरिन । उनले महानगरपालिकाले छिमेकी छिमेकीलाई लडाएर आफू चुप बसेको उनको भनाइ छ। उनले भनिन् ‘बाटो बन्नुपर्यो नि त डेढ करोड रुपैँया बजेट छुट्याएको छ अरे नगरपालिकामा कुहाएर राखेर हुन्छ ?यहाँ दशौँ वर्ष मुद्दा चल्ला अनि पर्खेर बस्छ मान्छेले, दशौँ वर्ष धुलो खाएर बस्ने ? सहमति गराउन मेयरले प्रयत्न नगरे कसले गर्ने ?’उनले प्रश्न गरिन् ।

स्थानीयले सास्ती बेहोरिरहनुपरेको अवस्थामा सरोकारवालाले सडक निर्माणमा केही चासो नदेखाएको स्थानीय एपोलो भगत बताउँछन् ।उनले दुवैपक्षलाई सहमत गराएर निर्माण अगाडि बढाउन महानगरपालिकासँग आग्रह गरे ।

स्थानीय भोलाप्रसाद बन्जराले नगरपालिकाले जनताबाट कर लिने तर विकास निर्माणको काममा चासो नदेखाउने गरेको बताए । उनले भने‘नगरपालिकाले कर लिने अनि मुद्दाको छिनोफानो गर्न चैँ पहल नगर्ने । यो कुरा नगरपालिका आफैँले गर्नुपर्ने हो ।’

आफ्नो नम्बरी जग्गामा महानगरपालिकाले सडकको नक्सा विपरीत मिचेर निर्माण गर्न लागेको विपक्षी स्थानीयबासी बताउँछन् । दक्षिणतर्फबाट सडक नक्सा रहेको र महानगरले उत्तरतर्फबाट आफ्नो जग्गा काट्ने गरी निर्माण गर्न लागेको उनीहरुको भनाई छ ।

स्थानीय गंगा श्रेष्ठले भने ‘नम्बरी जग्गामा घर बनाएर नक्सा पास गरेर बसेका छौँ । नक्सामा बाटो देखाएको छ १२२ फिट नगरपालिकाको नक्सामा जिल्ला नापी कार्यालयको नक्सामा रेकर्ड भएकै कुरा हो । कि त अदालतले कुसुम कुमारी श्रेष्ठको घर बाटोमा पर्यो भनेर प्रमाणित गरिदिनुपर्यो ।’ उनले पहिले नक्सा बमोजिमको बाटो क्लियर हुनुपर्ने बताए । बाटो बनाउन महानगरपालिकामा दबाब दिँदा अदालतमा मुद्दा छ भनेर टार्ने गरेको स्थानीयले बताएका छन् ।

विज्ञापन बक्स