१ असार, काठमाडौँ ।
कोरोनाको कहरका कारण समस्यमा परेका ओमानमा रहेका १ सय ६६ नेपाली आज स्वदेश आइपुगेका छन् । कोरानाको कारण समस्यामा परेका १६६ जना नेपाली सलाम एअरको विमानमार्फत स्वदेश फर्किएका हुन् । जहाजमा एउटा शव पनि ल्याइएको छ ।
समस्यामा परेका नेपालीलाई प्राथमिकताको आधारमा त्यहाँ रहेको नेपाली दूतावासले सलाम एअरमार्फत स्वदेश पठाएको हो । सरकारले हिमालय र नेपाल एअरलाइन्समार्फत नेपालीको स्वदेश फिर्तीका लागि उडान तालिका र भाडादर सार्वजनिक गरे पनि त्यहाँ रहको नेपाली दूतावासले सरकारले तोकेको मूल्यभन्दा सस्तो भाडादरमा नेपालीलाई स्वदेश पठाएको हो ।
एकतर्फी उडानको भाडा ११५ ओमानी रियाल अर्थात ३६ हजार २ सय ६१ रुपैयाँ तोकिएको छ । यो भाडा दर सरकारले स्वदेश फिर्तीका लागि तोकेकोभन्दा सस्तो हो । सरकारले उद्धार उडानका लागि हुने चार्टर्ड जहाजको भाडा तीन पटक घटाएर ओमानका लागि ४४ हजार ६७३ रुपैयाँमा झारेको छ ।
ओमानबाट फर्कने सबै नेपालीको पीसीआर जाँच गराएरै पठाइएको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले बताइन् । पीसीआर जाँच गरेर फर्किएकाले उनीहरु सिधै होम क्वरेण्टीनमा जान पाउनेछन् । कतिपय नेपालीले आफैंले स्वदेश फर्कने टिकट काटेका छन् भने कतिपयलाई कम्पनीले टिकट काटिदिएको छ । दोस्रो उडान असार ४ गते हुँदैछ । यो उडानमार्फत १८० जना नेपाली स्वदेश फर्कनेछन् । उनीहरुको सूची दूतावासले सार्वजनिक गरिसकेको छ ।