१७ वैशाख, रुकुम । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमणदर बढिरहेको बेला विद्यार्थीहरुको स्वास्थ्यलाई बेवास्ता गर्दै रुकुम पूर्वको एक गाउँपालिकाले विद्यालयहरुमा परीक्षा सञ्चालन गरिरहेको छ।
नेपाल सरकार र जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को निर्देशनको अवज्ञा गर्दै सिस्ने गाउँपालिकाले पालिकाभरका १० ओटा विद्यालयमा कक्षा १० को ल्याकत परीक्षा सञ्चालन गरिरहेको छ।
सिस्ने गाउँपालिकामा रहेका ९ वडा सामुदायिक र १ ओटा संस्थागत विद्यालयमा हिजोबाट कक्षा १० को परीक्षा सुरु भएको सिस्ने गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख मंगलसिंह बुढाले जानकारी दिए ।
सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर परीक्षा सञ्चालन भइरहेको उनको दाबी छ । कक्षा १ देखि ९ सम्मको परीक्षा आउँदो २२ गतेदेखि सुरु गरिने निर्णय भएको शिक्षा शाखा प्रमुख बुढाले बताए ।
परीक्षा दिन आएका विद्यार्थीहरुले उपस्थित नभएमा फेल भइने डरले बाध्य भएर परीक्षा दिन जानु परेको प्रतिक्रिया दिएका छन् ।
सबैतिरका विद्यालय र परीक्षाका कार्यक्रमहरु स्थगित भएको बेला स्थानीय सरकारले विद्यार्थीको स्वास्थ्य अवस्थाको जोखिमलाई बेवास्ता गरेको उनीहरुको गुनासो छ ।
डीसीसीएमसीले कोरोना भाइरसको जोखिमलाई नियन्त्रण गर्न विद्यालयमा पठनपाठन र परीक्षाका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको थियो ।
केन्द्रका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी राजकुमार राईको अध्यक्षतामा बसेको बैठकले भौतिक रुपमा उपस्थित भएर गरिने पठनपाठन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी राईले गाउँपालिकाहरुलाई पटक–पटक अनुरोध गर्दा पनि निर्णयको नमानेको बताएका छन् ।
आजैबाट कोरोना परीक्षणको कार्यलाई तीव्र पार्ने र सङ्क्रमित भेटिएमा स्थानीय प्रशासन ऐनको आधारमा रहेर विद्यालय बन्द गराउने उनले बताए ।
यहाँको भूमे गाउँपालिकाले पनि आउँदो १९ गतेदेखि परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ भने पुथाउत्तरगंगा गाउँपालिकाले वैशाखको २० गतेबाट वार्षिक परिक्षा सञ्चालन गर्ने तयारी गरिरहेको छ ।