१२ जेठ, काठमाडौं ।
काठमाण्डौका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले सर्वसाधारणलाई दुःख दिने मनसायले निषेधाज्ञा नगरिएको बताएका छन् ।
बुधवार काठमाण्डौको नागढुङ्गा नाका अनुगमन गर्दै पराजुलीले कोरोना सङ्क्रमणको दर बढेको कारण निषेधाज्ञा गर्नुपर्ने अवस्था आएको भन्दै सर्वसाधारणलाई दुःख दिने मनसाय नभएको बताए । प्रशासनले नागरिकको सहयोगको अपेक्षा गरेको पनि उनको भनाइ छ ।
अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी पराजुलीले अत्यावश्यकबाहेकका सवारी साधन नचलेको भन्दै निषेधाज्ञा पूर्ण रूपमा कार्यान्वयन भएको बताएका हुन् ।
उनले जेठ १४ गतेदेखि २० गतेसम्म काठमाण्डौमा निषेधाज्ञालाई कडाइ गर्ने आदेश भएको सन्दर्भमा नागरिकहरू खानै नपाइने हो कि भनेर आत्तिनुपर्ने अवस्था नरहेको पनि स्पष्ट पारे । बिहान–बेलुकी छाक टार्न नै समस्या पर्नेहरूका लागि काठमाण्डौ महानगरपालिकासँग समन्वय गरेर राहत उपलब्ध गराउने प्रबन्ध मिलाएको उनले बताए ।
उनले भने – ‘आपत् विपद् परे काठमाण्डौ महानगरपालिकासँग समन्वय गरेर वडा कार्यालयमार्फत त्यस्ता व्यक्तिहरूलाई राहत उपलब्ध गराउने प्रबन्ध पनि मिलाएका छौँ । कोही पनि व्यक्ति भोकले मर्नुपर्ने अवस्था हुँदैन । ठाउँ–ठाउँमा दाल, चामल उपलब्ध गराउने प्रबन्ध पनि गर्छौँ ।’
समस्यामा पर्नेले सम्बन्धित वडा तथा नगरपालिकामा अथवा नेपाल प्रहरीको १०३ सम्पर्क नम्बरमा फोन गरेर समस्या राखे समाधान गरिने पनि उहाँले बताए । सरकारी संयन्त्र खाद्य संस्थान र साल्ट ट्रेडिङमार्फत बिक्री÷वितरणको व्यवस्था मिलाउने सीडीओ पराजुलीको भनाइ छ ।