२३ चैत, सुनसरी । सवारी दुर्घटनामा नक्कली चालक उपस्थित गराई सक्कली चालक भगाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिराटनगर–१२ का जीवन खनाल र सोही स्थानका ३३ बर्षीय नेत्र प्रसाद पाठक रहेका छन । पक्राउ परेका दुबै जना कोशी यातायात प्रा.लि. इटहरीका संचालक समितिका सदस्य रहेको खुल्न आएको छ ।
चैत्र १२ गते सुनसरी कोशी–८ तिनकुने राजमार्गमा ना ४ ख ५२९१ नम्बरको बसले मे ६ प ८००० नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक ईलाम ८ तिल्केनीका मेखबहादुर राई सख्त घाईते भएकोमा उनको बिराट नर्सिङहोममा चैत्र १३ गते उपचारको क्रममा मृत्यु भएको थियो ।
दुर्घटना पश्चात तत्काल चालक फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय सुनसरीले उनको खोजी गरिरहेकोमा कोशी यातायात प्रा.लि. इटहरीका संचालक समितिका सदस्यद्धय जीवन र नेत्र प्रसादले सिरहा लाहान– ८ घर भई बिराटनगर बस्दै आएका अमित कुमार गुप्तालाई बसको चालक भनि उपस्थित गराएका थिए ।
यता जिल्ला प्रहरी कार्यालय सुनसरीबाट उनि माथी अनुसन्धान गर्ने क्रममा गुप्ताले आफु दुर्घटना भएको बसको चालक नभएको र आफूलाई ५० हजार रुपैया दिने र अदालतबाट छुटकारा समेत दिलाई दिने भनि आर्थिक प्रलोभनमा पारी उपस्थित गराएको जानकारी गराएसंगै घटनाको यथार्थ पर्दाफास भएको हो ।
यसरी झुक्याएर नक्कली चालक उपस्थित गराएको पाईएपछि यातायात प्रा.लि.का संचालक समितिका सदस्यद्धय जीवन र नेत्र प्रसादलाई पक्राउ गरी सार्बजनिक गरिएको हो ।
पिडित पक्षलाई क्रियाखर्च क्षतिपुर्ति दिलाउनु पर्ने संस्थाको जिम्मेबार कर्मचारी तथा बसका संचालक राजु थापा दायित्वबाट विमुख भई घटनालाई ढाकछोप गरि बास्तबिक चालकलाई जोगाउन खोजेको भन्दै संघका प्रतिनिधीहरु र नक्कली चालक लाई समेत सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार उनीहरु उपर कानूनी कारबाही प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।