सार्कको १९ औं शिखर सम्मेलनका लागि वातावरण अनुकूल बन्ने संकेत

226SHARES

१४ फागुन, काठमाडौँ । भारत र पाकिस्तान द्वन्द्वका कारण पाँच वर्षदेखि हुन नसकेको सार्कको १९ औं शिखर सम्मेलनका लागि वातावरण अनुकूल बन्ने संकेत देखिएको छ ।

पछिल्लो समयमा भारत र पाकिस्तानबीचको सम्बन्ध सुध्रिदै गएको छ र सार्कलगायत अन्य विभिन्न अन्य संयन्त्रका बैठकमा दुवै मुलुक सहभागी हुन थालेका छन् । एकले अर्काेलाई वहिष्कार गर्ने तहको सम्बन्ध केही हदसम्म सुध्रिएको छ ।

त्यसैगरी दुवै मुलुकले सम्बन्ध सुधारका लागि विभिन्न कदमहरु समेत चालेका छन् । भारत र पाकिस्तानको विचमा विहीबारमात्रै सीमा क्षेत्रमा युद्धविराम गर्ने सहमति भएको छ ।

पछिल्लो समयमा दुवै देशका उच्च अधिकारीहरुले शान्ति वार्ता शुरु गर्नका लागि आन्तरिक रुपमा वार्ता गरिरहेका छन् । विगत तीन महिनायता दुई देशका उच्च अधिकारीहरुबीच वार्ता भएको थियो ।

दुवै मुलुक सीमा क्षेत्रमा शान्ति कायम गर्न यस अगाडि भएको समझदारी, सम्झौता र युद्धविराम कार्यान्वयन गर्न सहमत भएका छन् । यदि सो सहमति कार्यान्वयन भएमा सार्कको शिखर सम्मेलनका लागि क्षेत्रीय वातावरण अनुकूल बन्ने छ ।

सार्क सम्मेलन हुने वा नहुने भन्नेचाँहि भारतमा नै निर्भर हुनेछ । यदि सार्कप्रति भारतको धारणा बदलिएको छैन र उसले यो अगाडि बढाउन चाहेको हो भने अब वातावरण अनुकूल भएको छ
सन् २०१६ को नोभेम्बर ९–१० मा पाकिस्तानको राजधानी इस्लामावादमा तय भएको सार्कको १९ औं सम्मेलन भारत र पाकिस्तानबीच बढेको तनावका कारण अनिनिश्चितकालका लागि स्थगित भएको थियो ।

सम्मेलनका लागि क्षेत्रीय परिस्थिति प्रतिकूल रहेको भारतले बताउँदै आएको छ । अहिले भएको युद्धविराम सम्झौता कार्यान्वयन भएमा इस्लामावादमा नै १९ शिखर सम्मेलन हुनसक्छ ।

सार्कलाई अगाडि बढाउने सम्बन्धमा विगत एक वर्षमा विभिन्न सकारात्मक सन्देश देखिएका छन् । पछिल्लोपटक फेब्रुअरी १८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क र अन्य दुई मुलुकका उच्च स्वास्थ्य अधिकारीहरुको एक कार्यक्रमलाई सम्बोधन गरे । सो कार्यक्रममा पाकिस्तानलाई पनि आमन्त्रण गरिएको थियो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस क्षेत्रका स्वास्थ्यकर्मीहरुका लागि विशेष भिसा योजना, क्षेत्रीय एयर एम्बुलेन्स र स्वास्थ्य क्षेत्रका अन्य निरन्तर सहकार्य र केही दीर्घकालीन सहकार्यको प्रस्ताव राखे । यसले भारत क्षेत्रीय सहकार्यका लागि उत्सुक छ भन्ने देखाएको छ । यी प्रस्तावलाई सार्कले मात्र अगाडि बढाउन सक्छ ।

कोरोनाको महामारीकै समयमा सार्कका विदेशमन्त्री, स्वास्थ्यमन्त्री र परराष्ट्रमन्त्रीहरुको संयुक्त बैठक पनि भयो । यति मात्र होइन सार्कका अन्य विभिन्न संयन्त्रहरुको बैठक पनि बसिरहेको छ । गत वर्ष मार्च महिनामा भारतीय प्रधानमन्त्री मोदीले सार्कका सरकार र राज्य प्रमुखसँग भिडियो वार्ता गरेका थिए । सो बैठकमा कोरोना लक्षित सार्क आपत्कालीन कोष घोषणा गरिएको थियो ।

सार्क सम्मेलन हुने वा नहुने भन्नेचाँहि भारतमा नै निर्भर हुनेछ । पछिल्लो समयमा भारतले सार्कको विकल्पमा विमस्टेक वा अर्काे निकाय अगाडि बढाउन चाहेको हो कि भन्ने आशंका छ । यदि सार्कप्रति भारतको धारणा बदलिएको छैन र उसले यो अगाडि बढाउन चाहेको हो भने अब वातावरण अनुकूल भएको छ ।

दुई देशबीचको सम्बन्धमा सुधार आएमा भारतीय प्रधानमन्त्री मोदी सार्कको सम्मेलनमा भाग लिन इस्लामावाद जाने छन् किनकी सार्क सम्मेलन गराउने जिम्मेवारी पाकिस्तानको हो । भारत तयार भएमा यही वर्षको अन्त्यतिर इस्लामावादमा शिखर सम्मेलन हुने सम्भावना छ । प्रत्येक दुई वर्षमा हुनुपर्ने सम्मेलन पाँच वर्षयता भएको छैन । त्यहाँका उच्च अधिकारीहरुलाई उल्लेख गदै भारतीय सञ्चारमाध्यमले सार्क सम्मेलनका लागि मोदी इस्लामावाद जाने वातावरण बन्दै गएको उल्लेख गरेका छन ।

सन् २०१६ पछि भारतले पाकिस्तानलाई कूटनीतिक रुपमा एक्लो पार्ने नीति लिएकोमा पछिल्लो एक वर्षमा सम्बन्ध सुधारको एप्रोच लिएको छ ।

यस अगाडिझैँ भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा अकस्मात अर्काे कुनै ठूलो घटना भएन भने सम्बन्ध सुधारको दिशामा जाने देखिन्छ जसले सार्क सम्मेलनका लागि अनुकूल वातावरण बनाउन थप सहयोग गर्ने छ । नेपाल लगायत सार्कका अन्य सदस्य मुलुकले सार्क सम्मेलन सकेसम्म छिटो आयोजना गर्न आग्रह गरिरहेका छन् ।

यसै हप्ता पाकिस्तान र श्रीलंकको विचमा सार्कलाई सुदृढ पार्ने र शिखर सम्मेलन छिटो गर्ने विषयमा छलफल भएको थियो । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको श्रीलंका भ्रमणको समयमा सार्क प्रक्रियालाई सुदृढ गर्ने सहमति भएको छ ।

छुटाउनुभयो कि?

सम्पूर्ण