२० कात्तिक, ललितपुर । स्थानीय बासिन्दाको दबाबपछि ललितपुरको सुनाकोठी क्षेत्रमा ठेकेदारले सडकमा ग्राभेलको काम थालेको छ ।
पिच नहुँदासम्म आन्दोलन नरोक्ने स्थानीय बासिन्दाको दबाबपछि ठेकेदारले हिजो बेलुकी ग्राभेल ल्याएर काम सुरु गरेको हो । तर पिच नगर्दासम्म आन्दोलन नरोक्ने स्थानीय बासिन्दाको भनाइ छ ।
ललितपुरका प्रदेशसभा सदस्य राजकाजी महर्जनले स्थानीय बासिन्दाको माग सम्बोधनका लागि सम्बन्धित निकायलाई झक्झकाउने काम गरिरहेको बताए । ठेकेदारले हिजो ग्राभेल झारेर काम गरेजस्तो गरे पनि सडक पिच नै हुनुपर्ने र यसको लागि निरन्तर दबाब दिने काम भइरहेको उनको भनाइ छ ।
ललितपुर महानगरपालिकाको वडा नम्बर २७ मा पर्ने सुनाकोठी क्षेत्रमा लामो समयसम्म पनि सडक कालोपत्रे नभएको भन्दै स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म गाडी चलाउन रोक लगाएका छन् । तर अत्यावश्यक सामग्रीका गाडीलाई भने चल्न दिइएको छ । ठेकेदारले सडक कालोपत्रे गर्नका लागि अग्रिम भुक्तानी लिएर पनि काम नगरेको स्थानीय बासिन्दाको आरोप छ ।
सडक मर्मत गरी कालोपत्रे गर्न स्थानीय बासिन्दाले पटक(पटक आग्रह गरे पनि ठेकेदारले बेवास्ता गर्दै आएका छन् । ८ मिटर चौडा रहेको सडक २२ मिटर चौडा गर्न पनि ठेकेदार कम्पनी र सडक विभागबीच सम्झौता छ । यो सडक बनाउने जिम्मा शैलुङ कन्स्ट्रक्सन कम्पनीले पाएको छ ।
यो कम्पनीका प्रोप्राइटर शारदाप्रसाद अधिकारीको बेवास्ताका कारण सकस झेल्न बाध्य भएको स्थानीय बासिन्दाले बताएका छन् ।