Nepal Times
Nepal Times
3
Shares

अक्सिजनको आयात बढ्दै, केही दिनमै अभाव कम हुने सरकारको दाबी

अक्सिजनको आयात बढ्दै, केही दिनमै अभाव कम हुने सरकारको दाबी

२ जेठ, काठमाडौं ।

अस्पतालमा अक्सिजनको हाहाकार भैरहेको बेला सरकारले अबको केही दिनमै अभाव कम हुने दाबी गरेको छ । आपूर्ति बढेको र वितरण पनि व्यवस्थित हुन थालेकाले एक, दुई दिनमै अक्सिजन सहज हुने स्वास्थ्य मन्त्रालयले दाबी गरेको हो।

मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले आयात र वितरणसँगै बिग्रेका अक्सिजन प्लान्ट मर्मत गरेर सञ्चालन गर्ने काम भैरहेको पनि बताए ।

यसैबीच ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिण्डर नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइड बडी जहाजले ओमानको राजधानी मस्कटबाट हिजो अक्सिजन सिलण्डर नेपाल ल्याएको हो ।

अक्सिजन सिलिण्डर गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त भएका हुन् । ओमानबाट फर्किएको जहाज अक्सिजन सिलिण्डर लिन गएराति नै चीनको राजधानी बेइजिङ गएको छ ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलका अनुसार सिलिण्डरसँगै चीनबाटै आठवटा अक्सिजन जेनेरेटर पनि ल्याउने तयारी भइरहेको छ ।

निगमको पूर्वनिर्धारित उडान तालिकाअनुसार वाइड बडी जहाजले लगातार चार दिनसम्म बेइजिङबाट दैनिक ५ सय ५० सिलिण्डर ल्याइनेछ ।

यस्तै नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न ठाउँबाट पछिल्लो २४ घण्टामा ६ सय ७३ अक्सिजन सिलिण्डर सङ्कलन गरी अत्यावश्यक क्षेत्रमा वितरण गरिएको छ । सङ्कलित सिलिण्डरमध्ये ३ सय २६ भरिएका र ३ सय ४७ खाली छन् ।

प्रहरीले हिजो सङ्कलन गरेका ६ सय ७३ र यसअघिको स्टक ९४ गरी जम्मा ७ सय ६७ सिलिण्डरमध्ये ५ सय ८५ कोरोना अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल आयाल निगमले पनि तरल अक्सिजन आयात गर्ने तयारी गरेको छ । भारतबाट तरल अक्सिजन ल्याउनको लागि इन्डियन आयल कर्पोरेसनलाई पत्राचार गरिएको निगमले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.