काठमाडौँ, असोज ४
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिर सर्वसम्मत भएका छन् ।आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले घिमिरेलाई प्रमुख आयुक्तमा सर्वसम्मतिले अनुमोदन गरेको हो ।
घिमिरेले समितिमा प्रस्तुत गरेको अवधारणा र कार्ययोजना तथा उनको योग्यता, क्षमता र अनुभवका आधारमा सर्वसम्मतिले अनुमोदन गरिएको समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए ।
आयुक्त घिमिरेले समितिको बैठकमा भ्रष्टाचार नियन्त्रणका लागि कार्ययोजनासहित काम गर्ने तथा सभ्य र भ्रष्टाचाररहित समाज निर्माणका लागि प्रतिबद्ध भएर काम गर्ने बताएका थिए ।
उनले भ्रष्टाचार र अनुचित कार्य छुट्याएर काम गर्ने प्रणालीको विकास गरिएको र पछिल्लो दिनमा स्थानीय निकायको बढी उजुरी आएको जानकारी दिए ।
उनले भने “म आयोगलाई व्यक्तिगत रुपमा भन्दा पनि संस्थागत रुपमा चलाउँछु र प्रभावकारी परिणाम निकाल्छु, प्रवृत्तिका रुपमा बढेको भ्रष्टाचार नियन्त्रणका लागि सबैको सहयोग जरुरी छ”, ।
बैठकमा सांसदले “प्रमुख आयुक्त हुनका लागि तपाईँको कार्ययोजना के के छन् ” भनेर गरेको प्रश्नको जवाफमा आयुक्त घिमिरेले आफ्नो कार्यकालमा कानूनी र नीतिगत सुधार गर्ने तथा भ्रष्टाचार नियन्त्रणका लागि प्रविधि तथा अनुसन्धानको दायरासमेत फराकिलो बनाउने उल्लेख गरे ।