१५ चैत, काठमाडौँ ।
धरानबाट पनि कोरोना भाईरस संक्रमणको परीक्षण सुरु भएको छ । यसअघि काठमाडौँको टेकु अस्पतालमा मात्र परीक्षण भईरहेको कोरोनाको परीक्षण शनिबारदेखि धरानको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि सुरु भएको हो ।
धरानबाट परीक्षण सुरु गरिएको शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए । किट अभावले परीक्षण हुन नसकेपछि प्रदेश १ सरकारले भारतबाट कोरोना परीक्षणको किट ल्याएको थियो । त्यसैगरी, चाइनाबाट सामान आएपछि हेटौडा, पोखरा, नेपालगञ्ज लगायत स्थानमा पनि नमुना परीक्षण सुरु गर्ने गरि आवश्यक तयारी गरिएको उनले बताए ।
उनले हाल सम्म ८ सय ७५ वटा नमुना परीक्षण गरिएको र ३२ वटा परीक्षणको क्रममा रहेको जानकारी दिए। मन्त्रालयले शनिबार देखि थप एउटा कल सेन्टर स्थापना गरेको छ । १११५ को साथै ११३३ मा पनि कल गर्न सकिने मन्त्रालयले जनाएको छ । नेपालमा शनिबार थप एक जनामा कोरोना भाइरस संक्रमण देखिएपछि संक्रमितको संख्या ५ पुगेको छ । बाग्लुङकी १९ बर्षिय युवतीमा संक्रमण भेटिएको हो ।