Nepal Times
Nepal Times
3
Shares

अब एसिड हान्दा नलागे पनि १० वर्ष कैद सजाय

अब एसिड हान्दा नलागे पनि १० वर्ष कैद सजाय

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले एसिडको बिक्री वितरण नियमन गर्ने र आक्रमणविरुद्ध कडा सजाय प्रस्ताव गरिएको अध्यादेश जारी गरेकी छन् । भण्डारीले अध्यादेश प्रमाणीकरण गरेसँगै सो अध्यादेश कार्यान्वयनमा जानेछ ।

संविधानको धारा १४४ को १ बमोजिम राष्ट्रपति भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश प्रमाणीकरण गरेकी हुन् । अध्यादेश जारी भएसँगै अब कुनै पनि व्यक्तिले दोस्रो व्यक्तिलाई एसिड प्रहार गरे २० वर्षसम्म जेल सजाय हुनेछ । एसिड छ्याप्ने व्यक्ति कानुनबमोजिम सजाय कटौती नहुने गरी २० वर्षसम्म जेल बस्नुपर्नेछ ।

अध्यादेशमा एसिड आक्रमण गर्दा सम्बन्धित व्यक्तिलाई नलागेमा पनि उद्योग गरेको मानिने र यस्तो उद्योगमा १० वर्षसम्म कैद र ५ लाखसम्म जरिमाना हुने व्यवस्था छ । एसिड आक्रमण गरेको प्रमाणित भएमा भने २० वर्षसम्मको कैद सजाय हुन सक्नेछ ।

एसिड आक्रमणबाट पीडितको तत्काल मृत्यु नभई सोही कामको परिणामस्वरूप पछि मृत्यु भएमा ज्यान मारेको मुद्दा लाग्नेछ भने शरीरका कुनै असर भए त्यसअनुसार कसुर भएको मानेर मुद्दा चलाइनेसमेत उल्लेख छ ।

आक्रमणकारीको सम्पत्ति रोक्का गरेर पीडितलाई तुरुन्तै क्षतिपूर्ति भराइने व्यवस्था पनि गरिएको छ । तेजाब छ्यापेर पीडितको अनुहार, आँखा, नाक, कान, घाँटी तथा संवेदनशील अंगमा क्षति पु¥याइएमा २० वर्षसम्म कैद सजाय निर्धारण गरिएको छ ।

शरीरका अन्य अंगमा तेजाब मात्रै परे १० वर्ष सजाय भुक्तान गर्नुपर्नेछ । तेजाब बिक्रीका लागि जिल्ला प्रशासन कार्यालयबाट लाइसेन्स लिनुपर्नेछ । वर्षैपिच्छे लाइसेन्स, बिक्री इजाजत अद्यावधिक र नवीकरण गर्नुपर्ने पनि कानुनी व्यवस्था गरिएको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.