Nepal Times
Nepal Times
3
Shares

आज दसैंको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै

आज दसैंको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै

४ कात्तिक, काठमाडौं ।

नेपाली समाजमा मनाइने महान पर्व बडा दशैंको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिंदै छ ।

कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफ्नो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

उष्णता तथा शीतलातालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको बताइएको छ । यी देवी उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा,सर्प लगाएतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ ।

यी देवीको वदनवर्ण वैजनी छ भने उनी सिंहमा चढेकी छन् । कुष्माण्डा माताले हातमा रक्तपूर्ण दुई वटा घडा लिएकी छन् । यी दुई घडा नै सृष्टिका आधार वस्तु बताइएको छ । देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्ज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरुमा उल्लेख छ ।

कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ ।

शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डाको विधिपूर्वक पूजा गरी बलि समेत चढाउने गरिन्छ । यस वर्ष काेराेना महामारीका कारणा सरकारले शक्तिपीठ तथा देवी मन्दिरहरु नखाेल्न भनेपनि अधिकांश शक्तिपीठहरुमा भक्तजनहरुकाे भिड लाग्ने गरेकाे छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.