९ चैत्र, एजेन्सी ।
इटलीको लोम्बर्डी क्षेत्रमा कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्न कडा नियमहरू लगाइएको छ।
शनिवार अबेर घोषणा गरिएका नयाँ नियम अनुसार समूहमा वा एक्लै पनि घर बाहिर खेल्न र शारीरिक व्यायाम गर्न प्रतिबन्ध लगाइएको छ। सामानहरू किन्ने मशिन प्रयोगमा पनि रोक लगाइएको छ। शनिवार मात्रै इटलीमा करिब ८०० जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको थियो।
गत महिना कोरोना सङ्क्रमण सुरु भएयता ४,८२५ जनाको मृत्यु भयो जुन विश्वकै सबभन्दा धेरै हो। लोम्बर्डी इटलीको सबैभन्दा नराम्ररी प्रभावित स्थान हो, त्यहाँमात्रै कोरोनाभाइरसका कारण ३,०९५ को मृत्यु भएको छ।
यो क्षेत्रका अध्यक्ष एट्टिलियो फोन्टानाले कडाइका नयाँ नियमहरू एक विज्ञप्ति जारी गर्दै घोषणा गरेका हुन्। अति आवश्यक सामग्रीका पसलहरू बाहेक सबै व्यवसायहरू बन्द गर्न भनिएको छ। अस्पताल, सडक र रेलमार्ग बाहेक कुनै पनि निर्माण सम्बन्धी काममा रोक लगाइएको छ।
लोम्बर्डीमा ८ मार्चदेखि ुलकडाउनु गरिएको छ। र सरकारले त्यो क्षेत्रमा सबैभन्दा पहिले परीणाम देखा पर्ने आशा राखेको छ।
शनिवार इटलीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले सबै आवश्यक नहुने व्यवसाय बन्द गर्न आदेश दिए। तर उनले कुन व्यवसाय अति आवश्यक हो भन्ने खुलाएनन्।
सुपरमार्केट, औषधीपसल, हुलाक र ब्याङ्कहरू खुला रहनेछन् भने सार्वजनिक यातायात पनि सञ्चालन पनि निरन्तर जारी रहनेछ। देशका नाममा टेलिभिजन मार्फत सम्बोधन गर्दै उनले भने, हामी मुलुकको उत्पादन इन्जिनको गति धीमा बनाउने छौँ तर पुरै बन्द भने गर्ने छैनौँ।
कोन्टेले परिस्थितिलाई युद्धपछिको हाम्रो समयको सबैभन्दा कठिन सङ्कट भनेर व्याख्या गरे। विभिन्न समयमा विभिन्न कडाइ गरिएपनि इटलीमा नयाँ सङ्क्रमण र मृत्यु हुने क्रम बढ्दो छ। विश्वव्यापी रूपमा २२०,००० जनालाई कोरोनाभाइरस सङ्क्रमण भएको र ९००० भन्दा बढीको मृत्यु भइसकेको छ।(बीबीसी)