१० असार,एजेन्सी ।
आज जुन २५ । यो दिन विश्वमा आज भएका विभिन्न घटना क्रमका कारण चर्चित छ । त्यस मध्येको प्रमुख घटनाक्रम हो विश्वले आजकै दिन ‘किङ अफ पप’ माइकल ज्याक्सनलाई गुमाउनु परेको थियो । आजकै दिन अमेरिकी गायक माइकल ज्याक्सनको निधन भएको थियो ।
‘किङ अफ पप’ ले चर्चित ज्याक्सनको ५० वर्षको उमेरमा अमेरिकाको क्यालिफोर्नियाको लस एन्जल्समा निधन भएको हो । ११ वर्षकै उमेरबाट संगीत क्षेत्रमा लागेका ज्याक्सनले १३ वर्षको उमेरमा पहिलो सोलो एल्बम निकालेका थिए ।
निकै विलासितापूर्ण जीवन निर्वाह गर्ने ज्याक्सनलाई बालयौन दुराचारको समेत आरोप लागेको थियो । उक्त मुद्दा मिलाउन ठूलो रकम खर्च गरेका थिए । त्यसका साथै ज्याक्सनले आफूहरूलाई पैसा नतिरेको वा सम्झौताअनुसार कार्यक्रम नगरेको भन्दै विभिन्न व्यक्ति तथा मनोरन्जन कम्पनीले मुद्दा दायर गरेका थिए ।
जसका कारण जीवनको पछिल्लो समय ज्याक्सन आर्थिक अभावबाट गुज्रिएका थिए । द गार्जियनका अनुसार २००९ जुन २५ मा मृत्यु हुँदाका बेला ज्याक्सनले विभिन्न व्यक्ति तथा कम्पनीलाई करिब पाँच सय मिलियन अमेरिकी डलर तिर्नुपर्ने थियो ।
ज्याक्सनको जन्म १९५८ अगस्ट २९ मा अमेरिकाको इन्डियानामा भएको थियो । उनका ‘अफ द वाल’, ‘थ्रिलर’, ‘ब्याड’, ‘डेन्जरस’, ‘इन्भिन्सिबल’ लगायतका एल्बम लोकप्रिय छन् । ज्याक्सनका १० करोड प्रतिभन्दा बढी एल्बम बिक्री भएको बताइन्छ ।
यस्तै आजको दिन भारतमा आजभन्दा ४८ वर्षअघिको १९७५ जुन २५ भारतमा आपत्काल‘ लगाइएको थियो । अंग्रेजबाट स्वतन्त्रता पाएको २८ बर्षमै प्रधानमन्त्री इन्दिरा गान्धीले लगाएको ‘आपत्काल‘ ले आज पनि चर्चाको विषय बन्ने गरेको छ ।
इन्दिरा गान्धीलाई एक साहसी महिलाको रुपमा भारतमा चिन्ने गरिन्छ । यिनले जीवनमा निकै साहसी काम गरेर विश्वलाई चकित बनाएकी छिन् । इन्दिराले पाकिस्तान फुटाएर विश्वको मानचित्रमा नयाँ देश बंगलादेश बनाइन् भने अर्कोतिर यिनले सिक्किम जस्तो सानो र शान्त राष्ट्रको स्वतन्त्रता खोसेर भारमता विलय गराएकी थिइन ।
गान्धीको नेतृत्वमा रहेको कांग्रेस सरकारको सल्लाहमा राष्ट्रपति फखरुद्दीन अली अहमदले देशमा संकटकाल लगाउने घोषणा गरेका थिए । आपतकालको समयमा नागरिक अधिकार खारेज गरियो र इन्दिरा गान्धीका राजनीतिक विरोधीहरूलाई गिरफ्तार गरिएको थियो ।
अदालतले इन्दिरा गान्धीलाई लोकसभा चुनाव जित्न गलत तरिका अपनाएकोमा दोषी ठहर गर्दै उनको चुनाव रद्द गरिदिएपछि सत्ता गुमाउने डरले इन्दिराले देशमा संकटकाल लगाएकी थिइन् भन्ने भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।