Nepal Times
Nepal Times
3
Shares

इतिहास बोकेको सदर चिडियाखाना आर्थिक अभावले बन्द हुने अवस्थामा

इतिहास बोकेको सदर चिडियाखाना आर्थिक अभावले बन्द हुने अवस्थामा

१८ भदौ, काठमाडौँ ।
ललितपुरको जावलाखेल स्थित केन्द्रीय चिडियाखाना आर्थिक अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ । सरकारले गत चैत ११ गते देखि लकडाउन गरेपछि चिडियाखानाको आम्दानी नहुँदा आर्थिक अभाव हुनगई चिडियाखाना नै बन्द हुने अवस्थामा पुगेको हो ।

सदर चिडियाखानाका आयोजना अधिकृत डा. चिरन्जीबी पोखरेलले आम्दानी बन्द हुँदा बन्यजन्तुको रेखदेख, खानपिन र सरसफाइमा खर्च व्यवस्थापन गर्न समस्या भएको बताए । चिडियाखानाको मूख्य आम्दानी चिडियाखाना हेर्न जानेहरुबाट लिइने टिकट शुल्क हो । तर अहिले चिडियाखाना प्रवेश पूर्णरुपमा बन्द छ । २०७६ चैत महिनाको पहिलो साता देखि नै चिडियाखाना प्रवेश पूर्ण रुपमा बन्द रहेकाले आम्दानी शुन्य भएको उनले बताए ।

चिडिया खानाको आम्दानी प्रति महिना १ करोड रुपैयाँ बराबर हुन्थ्यो भने खर्च पनि सोही रकम बराबर नै हुने गरेको डा. पोखरेलको भनाई छ । तर आम्दानी शुन्य भएपछि आर्थिक समस्या देखिएको र चिडियाखानालाई नै कसरी बचाउने भन्ने चुनौति थपिएको उनले बताए । अहिले चिडिया खानामा १ सय १० प्रजातिका १ हजार भन्दा बढी बन्यजन्तु रहेका छन् । त्यस्तै ७५ जना कर्मचारी चिडिया खानामा कार्यरत छन् । सबैतर्फ खर्च व्यवस्थापनको समस्या हुँदा भोलिको दिनमा चिडियाखानालाई सञ्चालन गर्न चुनौति थपिएको उनले बताए ।

आर्थिक अभावका कारण चिडिया खानाका कर्मचारीले आधा महिनाको तलब लिएर काम गरिरहेको पनि डा. पोखरेलले बताए । वित्तीय हिसाबले ऋणात्मक अवस्थामा पुगेको चिडियाखाना सरकारको सम्पत्ति हो । विगत २० वर्ष देखि चिडियाखना आफ्नै आम्दानीबाट सञ्चालन हुँदै आएको छ । अहिले कोभिड १९ का कारण पूर्ण रुपमा बन्द गर्नुपर्दा आम्दानी शुन्य भएको छ । यस्तो अवस्थामा सरकारले आफ्नो सम्पत्तिको सुरक्षाका लागि पनि आर्थिक सहयोग गरी चिडियाखानालाई बचाउनुपर्ने डा. पोखरेलले बताए ।

बन्यजन्तुका लागि लामो समय खानेकुरा मौजात राख्न सक्ने अवस्था पनि चिडियाखानासँग छैन । गेडागुडी लगायतका खानेकुरा एक महिना सम्मका लागि मौजात रहने भएपनि माछा मासुको मौजात एक साता भन्दा बढी राख्न सक्ने क्षमता चिडियाखानासँग छैन । त्यसैले लकडाउनको समयमा बन्यजन्तुको खानेकुरा ल्याउन समेत समस्या हुने गरेको छ । यस्तै सरकारले सबै क्षेत्रलाई खोल्ने निर्णय गरे चिडियाखाना सञ्चालन गर्ने सम्बन्धमा तयारी गरिसकेको पनि पोखरेलले बताए । उनले कोभिडको संक्रमणका बिच पनि अन्य क्षेत्र खुल्दा चिडियाखानालाई कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा योजना बनाइसकेको पनि बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.