Nepal Times
Nepal Times
3
Shares

उर्लाबारी नगरपालिकाको कामकाज एक महिनादेखि ठप्प

उर्लाबारी नगरपालिकाको कामकाज एक महिनादेखि ठप्प

२९ भदौ, मोरङ । पूर्वी मोरङको उर्लाबारी नगरपालिकामा करिव एक महिनादेखि कामकाज ठप्प भएको छ । नगर प्रमुख र उपप्रमुखबीचको विवादका कारण सेवा ठप्प रहेको नगरपालिकाको विवाद भने थप चर्किएको छ ।

नगरप्रमुख खड्ग फागो र प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीबीचको विवाद उत्कर्षमा पुगेको छ । नगरप्रमुख खड्ग फागोले रेग्मीको निवासमा ताला लगाइदिएपछि विवादले नयाँ रूप लिएको हो ।

उर्लाबारी नगरपालिकाको नगरसभाको तयारी गर्ने क्रममा असार २८ गते बसेको कार्यपालिकाको बैठकले एकतर्फी निर्णय गरेको भन्दै बहुमत सदस्यहरूले बहिष्कार गरेर हिँडेपछि विवाद सुरु भएको थियो ।

मेयर फागोले ५ जना वडा अध्यक्षको सहमतिमा एकलौटी निर्णय गरेको उपमेयर लक्ष्मीदेवी भण्डारी पक्षधरको दाबी छ ।

मेयरले आफू निकटका कार्यपालिका सदस्यलाई साथ लिएर निर्णय गरेको र चौथो नगरसभामा पेस गरिएको निर्णय पनि एकलौटी गरेको भन्दै उपमेयरसहित कार्यपालिका सदस्य उच्च अदालतसम्म पुगेका छन् ।

बहुमतले निर्णय गर्नुपर्ने व्यवस्था भए पनि मेयर फागोले एकलौटी निर्णय गरेको र आफूहरूलाई कानुनी बाटो रोज्न भन्दै चुनौती दिएकाले साउन २० गते अदालत पुगेको उपमेयर भण्डारीले बताइन ।

उर्लाबारी नगरपालिकाको नगरसभामा पेस भएको निर्णय हाललाई कार्यान्वयन नगर्न नगराउन भनेर उच्च अदालत विराटनगरले नगरपालिकाका नाममा अन्तरिम आदेश जारी गरिसकेको छ । जसका कारण २९ दिनदेखि नगरपालिकाको काम ठप्प छ ।

मेयर खड्ग फागोले भने मुद्दा फिर्ता लिन आग्रह गर्दै सहमतिको प्रयास गरिरहेको बताएका छन  । लामो समयदेखि नगरपालिकाको काम ठप्प भएपछि मन्त्रिस्तरीय निर्णय गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आव ०७५/७६ को निर्णय अनुसार काम सुचारु गर्न पत्र पठाएको छ ।

उक्त पत्र कार्यान्वयन नगराउन मेयर फगोले धम्की दिएको भन्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेग्मीले जिल्ला प्रशासन कार्यालय मोरङमा शान्ति सुरक्षाको माग गरेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.