Nepal Times
Nepal Times
3
Shares

एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’, आफ्नो नाममा सिम नहुँदा समस्या

एक लाख ६२ हजारले डाउनलोड गरे ‘नागरिक एप’, आफ्नो नाममा सिम नहुँदा समस्या

४ माघ, काठमाडौँ । ‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आर्कषण देखिएको छ ।

यस एप एन्ड्रोइडमा आइतबार १२ बजेसम्म एक लाख ६२ हजार पाँच सय प्रयोगकर्ताले डाउनलोड गरेको पाइएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार एप डाउनलोड गर्ने मध्येबाट अहिलेसम्म ४० हजार बढी प्रयोगकर्ताले एप सञ्चालन गरिसकेका (खाता खोल्न सफल भएको) छन् ।

धेरै सङ्ख्यामा नागरिक एप डाउनलोड भए पनि विभिन्न कारणले गर्दा एक लाख २२ हजार बढीको विवरण प्रमाणीकरण हुन नसकेको केन्द्रका सूचना अधिकारी रमेशप्रसाद पोखरेलले जानकारी दिए ।

उनका अनुसार धेरै प्रयोगकर्ताको आफ्नै नाममा सिम कार्ड नहुनु, गृह मन्त्रालयको तथ्याङ्कअनुसार नागरिकता नम्बर र राहदानी नम्बर फरक हुँदा विवरण प्रमाणीकरण हुन नसकेको हो । परीक्षणका क्रममा रहेको यस एपमा प्रयोकर्ताको आकर्षण देखिए पनि विभिन्न कारणले एप सञ्चालनमा कठिनाइ देखिएको उनी बताउँछन् ।

नागरिकता, राहदानी वा मतदाता परिचयपत्रमा रहेको विवरण मन्त्रालयमा रहेको डाटामा मेल नखाएको तथा अर्काको नामको सिम कार्ड प्रयोग गर्दा प्रमाणीकरण हुन नसकेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका अधिकारीहरू बताउँछन् ।

सरकारद्वारा प्रदान गरिने सबै किसिमका सेवालाई ’डिजिटलाइज’ गरी एकीकृत प्लेटफर्मबाट सेवा प्रवाह गर्ने भन्दै शुक्रबारदेखि नागरिक एप सञ्चालनमा ल्याइएको हो । यस एपबाट नागरिकले प्यान कार्डसम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्ने र सरकारलाई तिरेको करको विवरणसमेत मोबाइल सेटमार्फत नै जानकारी लिन सक्नेछन् । एपमार्फत नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरण प्राप्त गर्न सक्नेछन् भने नागरिक लगानी कोष, सञ्चय कोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम तथा ऋण विवरणको जानकारी लिन सक्नेछन् ।

सुरुवाती चरणमा गृह मन्त्रालय, निर्वाचन आयोग र राहदानी विभागमा रहेका विवरणलाई प्रयोग गरी यस एपमा नगरिकको डिजिटल परिचय स्थापित गरिएको छ । आगामी दिनमा राष्ट्रिय परिचयपत्रसमेतलाई जोड्ने योजना सरकारको छ । (रासस)

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.