Nepal Times
Nepal Times
3
Shares

एभरेष्ट सुगर मिलबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

एभरेष्ट सुगर मिलबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

१५ माघ, महोत्तरी । एभरेष्ट सुगर मिल रामनगरले उद्योगबाट उत्पादित ३ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडेको छ ।

महोत्तरीको गौशाला नगरपालिका-१ मा रहेको एभरेष्ट सुगर मिल रामनगरले उद्योगबाट उत्पादित ३ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।

चिनी उद्योगको उखुको खोस्टा (बगास) को प्रयोग गरी उत्पादन भएको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । उद्योगका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरका अनुसार नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोली पुगेर परीक्षण उत्पादन सुरु गरेको हो ।

उद्योगले उत्पादन गरेको विद्युत १२ किलोमिटर दूरीमा रहेको औरही सबस्टेसनमा लगेर जोडिएको छ । चिनी उद्योगबाट प्राधिकरणलाई बिक्री गर्ने गरी पहिलो पटक विद्युत उत्पादन भएको हो । बगासबाट विद्युत उत्पादन गर्न उपकरणबाहेक १२ करोड रुपैयाँ खर्च भएको ठाकुरले बताए ।

उद्योगले विद्युत उत्पादन गर्न आफ्ना पहिलेकै उपकरणको प्रयोग गरेको छ । उद्योगले आफ्नो आन्तरिक खपतका लागि लामो समयदेखि आफैँ विद्युत उत्पादन गर्दै आइरहेको छ ।

उद्योगसँग १२ मेगावाटसम्म विद्युत उत्पादन गर्न सक्ने उपकरण छन् । उद्योगमा खपत भएर बढी भएको ३ मेगावाट विद्युत मात्रै प्राधिकरणलाई बेच्न लागिएको हो ।

उखुको मौसममा उद्योगले ११ मेगावाटसम्म विद्युत उत्पादन गर्दै आएको छ । एभरेष्टसँगै सर्लाहीको इन्दुशंकर, बाराको रियलाइन्स चिनी उद्योगले पनि व्यावसायिक विद्युत उत्पादनका लागि प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) गरेका छन् ।

इन्दुशंकर र रियलाइन्सले पनि यो वर्षको उखु सिजनबाट विद्युत बेच्ने तयारी गरिरहेका छन् । प्राधिकरणले चिनी उद्योगले उत्पादन गर्ने विद्युत हिउँदको ४ महिना प्रतियुनिट ८.४० रुपैयाँमा खरिद गर्नेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.