२१ पुष , काठमाण्डौ ।

निर्वाचन भन्दा संसद पुर्नस्थापनामा लामो समयसम्म जोड दिँदै आएको नेकपा एमाले पछिल्लो समय फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ धमाधम उम्मेदवार सिफारिस गरिरहेको छ ।

पुस १३ गते बसेको सचिवालय बैठकले उम्मेदवार सिफारिस गर्न मातहतका कमिटीलाई दिएको निर्देशन अनुसार क्षेत्रीय कमिटीमार्फत उम्मेदवार सिफारिस भइरहेको छ । क्षेत्रीय कमिटीले सिफारिस गरेका उम्मेदवारहरु जिल्ला कमिटी र प्रदेश कमिटीले रायसहित केन्द्रमा पठाउनुपर्नेछ ।

सिफारिस नामहरु क्षेत्र र जिल्ला हुँदै पुस २४ गतेभित्र केन्द्रमा पठाउनुपर्नेछ । अहिले सम्म प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा (एमाले)का शीर्षनेतासहित २६ नेता एकल उम्मेदवार सिफारिस भएका छन्।

जसले विगतमा पनि सोही क्षेत्रबाट प्रतिनिधित्व गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा झापा–५ बाट एकल सिफारिस भएका छन्। त्यस्तै, ईश्वर पोखरेल काठमाडौँ–८ बाट एकल सिफारिस भएका छन् ।

उनी भरखरै सम्पन्न एमाले एघारौँ महाधिवेशनमा अध्यक्षमा ओलीसँग पराजित भएका थिए। त्यस्तै, उपाध्यक्ष विष्णु पौडेल रुपन्देही–२ बाट, महासचिव शंकर पोखरेल दाङ–२ बाट र उपमहासचिव लेखराज भट्ट कैलाली–४ बाट एकल सिफारिसमा परेका छन्।

त्यस्तै, सचिव महेश बस्ने भक्तपुर–२ बाट एकल सिफारिस भएका छन्।अहिलेसम्म तल्लो कमिटीबाट २६ नेता सर्वसम्मत उम्मेदवार सिफारिस भएका हुन्। एकल सिफारिस हुनेमा अध्यक्ष केपी शर्मा ओलीसहित ५ पदाधिकारी रहेका छन्।

अहिलेसम्म एकल सिफारिस भएका एमालेका उम्मेदवारहरुमा :

कोशी

१. केपी शर्मा ओली, झापा ५

२.सुहाङ नेम्वाङ, इलाम २

मधेश

१. लीलानाथ श्रेष्ठ, सिरहा ३

२. लक्ष्मी महतो कोइरी, महोत्तरी १

३. हरि उप्रेती, सर्लाही ३

४. अजय गुप्ता, रौतहट १

५. मनोज देवकोटा, सर्लाही १

बागमती

१. बद्री मैनाली, नुवाकोट १

२. मणिराम फुयाल, काठमाडौं २ (प्रस्ताव)

३. गोकुल बास्कोटा, काभ्रे २

४. महेश बस्नेत, भक्तपुर २

५. ईश्वर पोखरेल, काठमाडौं ५

गण्डकी

१. तिलक महत, नवलपुर २

२.मिलन गुरुङ, गोरखा २

लुम्बिनी

१. प्रदीप ज्ञवाली, गुल्मी १

२.सूर्य ढकाल, बाँके १

३. दलबहादुर सुनार, बाँके ३

४. विश्राम चौधरी, कपिलवस्तु १

५. विष्णु पौडेल,रुपन्देही २

६. शंकर पोखरेल,दाङ २

कर्णाली

१. ध्रुव शाही, सुर्खेत १

२. कलाधर देवकोटा, सुर्खेत २

३. गुलाबजंग शाह, सल्यान

सुदूरपश्चिम

१.लेखराज भट्ट, कैलाली ४

२. दामोदर भण्डारी, बैतडी

३. गणेश ठगुन्ना, दार्चुला

एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरु विष्णु पौडेल,पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल, सचिव महेश बस्नेत लगायत नेताहरु उम्मेदवारका रुपमा सिफारिस भइसकेका छन् ।

शनिबार सम्पन्न क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर ५ को बैठकले अध्यक्ष ओलीको एकल नाम सिफारिस गरेको हो । एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार झापा–५ का लागि सर्वसम्मत रुपमा अध्यक्ष ओलीको नाम सिफारिस गरिएको हो ।

त्यस्तै उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नाम रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट एकल सिफारिस भएको छ । पूर्वअर्थमन्त्री समेत रहेका पौडेलको नाम एकल रूपमा सिफारिस भएको एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले रातोपाटीलाई बताए ।

रुपन्देहीमा ५ वटा निर्वाचन क्षेत्र रहेका छन् । पौडेलले रुपन्देही–२ बाट २०६४ सालदेखि निरन्तर जित्दै आएका छन् । अर्का उपाध्यक्ष गोकर्ण विष्ट गुल्मी–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन् भने गुल्मी–१ मा नेता प्रदीप ज्ञवाली सिफारिस भएका छन् ।

गुल्मी–२ बाट नेतृ रामकुमारी झाँक्री पनि उम्मेदवारका लागि सिफारिस भएकी छन् । एक निर्वाचन क्षेत्र रहेको लमजुङबाट उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङसहित ६ जना उम्मेदवार सिफारिस भएका छन् ।

लमजुङबाट नेताहरू जमिन्द्रमान घले, धनञ्जय दवाडी, कृष्ण अधिकारी, भगवती थापा र लक्ष्मीदेवी अधिकारीको नाम सिफारिस गरेको एमाले लमजुङले जनाएको छ । एमालेका अर्का उपाध्यक्ष रामबहादुर थापा बादल र गुरु बराल समानुपातिकको बन्दसूचीमा परिसकेका छन् ।

अर्का उपाध्यक्ष रघुजी पन्त ललितपुरबाट निर्वाचन लड्ने मनस्थितिमा छन् । यसअघि २०७९ को निर्वाचनमा पन्त समानुपातिक सांसद बनेका थिए । उता दाङ क्षेत्र नम्बर २ बाट एमालेले महासचिव शंकर पोखरेलको एकल नाम सिफारिस गरेको छ ।

आइतबार बसेको एमाले क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेलको एकल नाम सिफारिस गरेको छ । यो क्षेत्र महासचिव पोखरेलको गृह क्षेत्र हो । त्यस्तै उपमहासचिव योगेश भट्टराई ताप्लेजुङबाट सिफारिस भएका छन् ।

एमाले ताप्लेजुङको शनिबार बसेको बैठकले उपमहासचिव भट्टराई, पार्टीका केन्द्रीय सदस्य थेबे, अर्का केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्वो, निवर्तमान केन्द्रीय सदस्य टंक आङबुहाङ र एमाले जिल्ला कमिटी उपसचिव भीमादेवी ओझा गरी पाँच जनालाई पार्टीबाट उम्मेदवार सिफारिस गरेको एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष दीपेन्द्र पोमू (दीपेन)ले जानकारी दिए ।

उपमहासचिवद्वय रघुवीर महासेठ धनुषा र लेखराज भट्ट कैलालीबाट उम्मेदवार बन्ने तयारीमा छन् । त्यस्तै सचिवहरु महेश बस्नेत भक्तपुर, छविलाल विश्वकर्मा रुपन्देही, यमलाल कँडेल सुर्खेत, भानुभक्त ढकाल सुनसरी, राजन भट्टराई काठमाडौं–४, शेरधन राई भोजपुर, खगराज अधिकारी कास्कीबाट चुनाव लड्ने तयारीमा छन्।

उपमहासचिव पद्मा अर्याल समानुपातिक सूचीमा सिफारिस भइसकेकी छन् । अन्य केही निर्वाचन क्षेत्र र जिल्लाहरूले पनि सर्वसम्मत रूपमा एकल नाम चयन गरिसकेका छन् भने केही स्थानमा उम्मेदवार छनोटको प्रक्रिया जारी छ।

यता एमाले चितवन– १ बाट ६ जनाको नाम सिफारीस हुँदा पूर्वअर्थमन्त्री समेत रहेका सुरेन्द्र पाण्डेको नाम भने सिफारिसमा परेको छैन् । क्षेत्रीय समितिको बैठकले पूर्वप्रदेश मन्त्रीसहित छ जनाको नाम सिफारिस गरेपनि सुरेन्द्र भने छुटेका छन् ।

चितवन क्षेत्र नम्बर १ नेकपा एमालेका पूर्व उपाध्यक्ष सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्र समेत हो । एमाले विधानले क्षेत्रीय कमिटीले सिफारिस गरेका व्यक्ति मात्र प्रतिनिधि सभाको उम्मेदवार हुन पाउने व्यवस्था उल्लेख छ ।

पूर्व अर्थमन्त्री समेत रहेका पाण्डे बौद्धिक नेताका रुपमा परिचित छन् । उनले गएको निर्वाचनमा रास्वपका हरि ढकालसँग पराजय भोगेका थिए । त्यसअघि उनले त्याहाबाट पटक पटक जित्दै आएका थिए ।

चितवनमा ३ वटा निर्वाचन क्षेत्र छन् । अन्य २ वटा निर्वाचन क्षेत्रले २२ गते नाम सिफारिस गरेको छ । सबै जिल्ला र निर्वाचन क्षेत्रबाट आएका सिफारिस केन्द्रमा पुगेपछि एमालेले उम्मेदवारको अन्तिम टुंगो लगाउनेछ ।

Scroll to Top