काठमाडौं, २ वैशाख । नेकपा (एमाले)ले काठमाडौं महानगरको नगरप्रमुख उम्मेद्वारका रूपमा अहिलेका मेयर विद्यासुन्दर शाक्यसहित पाँच जनाको नाम सिफारिस गरेको छ ।
एमाले काठमाडौँ नगर कमिटीले शाक्यसहित पूर्वमन्त्री रामवीर मानन्धर, प्रदेशसभा सदस्य केशव स्थापित, नगर कमिटीका अध्यक्ष निर्मल देउला र जिल्ला कमिटी सदस्य इन्दिरा पन्तको नाम सिफारिस गरेको हो ।
नगर कमिटीबाट सिफारिस भएपछि सोही आधारमा जिल्लाले सिफारिस गर्ने एमालेले बताएको छ । जिल्ला कमिटीले आफूलाई लागेको रायसहित प्रदेश र प्रदेशबाट केन्द्र जाने बताइएको छ ।
केन्द्रले तल्ला कमिटीका सुझावका आधारमा निर्णय गर्नेछ । मेयरकालागि नगर कमिटीको सिफारिसमा परेका रामवीर मानन्धर पूर्वराज्यमन्त्रीसमेत हुन ।
विद्यासुन्दर शाक्य हालका मेयर तथा एमाले काठमाडौंका पूर्वअध्यक्ष हुन् । केशव स्थापित पूर्वमेयर हुन् । निर्मल देउला प्रदेश सभा सांसद तथा महानगर कमिटीका अध्यक्ष हुन ।
इन्दिरा पन्त प्रदेश कमिटी सदस्य तथा उद्यमी महिला नेत्री हुन् । यस्तै बैठकले उपमेयरमा सांसद रत्ना गुरुङ, पेम्बा लामा, मीना काफ्लेलगायतको नाम सिफारिस गरेको छ ।
एमालेले ३२ वटै वडामा वडाध्यक्ष र सदस्यहरूको नाम पनि सिफारिस गरेको छ । यस्तै काठमाडौंको दशओटै नगरपालिकामा मेयर र उपमेयर तथा वडाका उम्मेदवारहरूको छनोट प्रक्रिया अगाडि बढाइरहेको छ । एमालेले ललितपुर महानगरको मेयरमा भने हरिकृष्ण व्यञ्जनकार र उममेयरमा मञ्जली शाक्यको नाम सर्वसम्मत टुंगो लगाइसकेको छ ।