Nepal Times
Nepal Times
3
Shares

एसईई र कक्षा १२ को परीक्षा स्थगित

एसईई र कक्षा १२ को परीक्षा स्थगित

२७ वैशाख, काठमाडौँ ।
राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।

सोमबार बिहान बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । अर्को सूचना नभएसम्मका लागि दुवै परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए ।

जेठ १३ गतेबाट सञ्चालन हुने एसईईका लागि प्रश्नपत्र छपाइको काम सकिएको छ । ५ लाख १७ हजार विद्यार्थी एसईईको तयारी छन् । अवस्था नियन्त्रणबाहिर रहेकाले देशभरका २ हजार १९ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुन नसक्ने निर्ष्कष निकालिएको बोर्डका सदस्यहरुले बताए ।

जेठ २६ बाट हुने कक्षा १२ को परीक्षा पनि अन्यौलमा छ । परीक्षा हुन महिना दिन बाँकी छ तर महामारीले पठनपाठन बन्द छ भने अधिकांश जिल्ला निषेधाज्ञामा छन् । करिब ४ लाख परीक्षार्थी कक्षा १२ मा छन् ।

यसवर्ष कक्षा १२ को हकमा अनलाइनबाट प्रश्नपत्र पठाउने व्यवस्था गरिएको छ । गतवर्ष पनि कोरोना महामारीकाबीच अनलाइनबाटै प्रश्नपत्र पठाएर घरपायक परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।

यो वर्ष इन्टरनेट सुविधा पुगेका निश्चित परीक्षा केन्द्रमा मात्रै प्रश्नपत्र पठाएर परीक्षा लिने तयारी छ । गतवर्ष पनि कोरोना महामारीका कारण एसईईका परीक्षार्थीलाई विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनका आधारमा बोर्डले नतिजा दिएको थियो ।

त्यस्तै बोर्ड बैठकले एसईई र कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने अध्ययन गर्न ५ सदस्यीय कार्यदलसमेत गठन गरेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।

कोरोनाको संक्रमण कायमै रहेर भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्ने अवस्था नरहे के कसरी अघि बढ्ने मोडालिटी तय गर्न कार्यदल बनाइएको बोर्डले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.