Nepal Times
Nepal Times
3
Shares

ए डिभिजन लिगः जावलाखेलद्वारा एपीएफ १-० ले पराजित, शेर्पालाई हराउँदै थ्री स्टार तेस्रो स्थानमा

ए डिभिजन लिगः जावलाखेलद्वारा एपीएफ १-० ले पराजित, शेर्पालाई हराउँदै थ्री स्टार तेस्रो स्थानमा

९ माघ, काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार जावलाखेल युथ क्लबले नेपाल एपीएफ क्लबलाई १-० गोल अन्तरले पराजित गरेको छ ।

खेलको अन्तिम ३० मिनेट १० खेलाडीमा सिमित हुनका बाबजुद जावलाखेलले अग्रता लिँदै जित हासिल गरेको हो । जावलाखेलको जितमा विदेशी फरवार्ड फोडे फोफानाले एकमात्र गोल गरे । उनले ७१ औं मिनेटमा वन टचमा गरेको गोल निर्णायक सावित भएको थियो ।

त्यसअघि खेलको ५७ औं मिनेटमा जावलाखेलका गोलरक्षक टिकेन्द्र थापाले रातो कार्ड पाएका थिए । पेनाल्टी क्षेत्र बाहिर आएर हातले बल समाएपछि रेफ्रिले उनलाई सिधै रातो कार्ड देखाए ।

पछिल्ला दुई खेलमा पराजय भोगेको जावलाखेल यस जितसँगै अंक तालिकामा उकालो लागेको छ । ८ खेलमा ३ जित, ३ बराबरी र २ हारसँगै १२ अंक जोडेको जावलाखेल पाँचौ स्थानमा उक्लिएको छ । एपीएफ भने ८ खेलमा १ जित, २ बराबरी र ५ हारसँगै ५ अंक जोड्दै पुछारबाट दोस्रो स्थानमा छ ।

यसअघि आजै भएको पहिलो खेलमा रुस्लान थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
दशरथ रंगशालामा बिहीबार भएको पहिलो खेलमा थ्री स्टारले शेर्पामाथि ३-१ को जित हात पार्यो । खेलको छैटौं मिनेटमा लालरमवाको पासमा अनमार्क रहेका सुशील राईले गमेल गर्दै थ्री स्टारलाई अग्रता दिलाए । ३० औं मिनेटमा निशान खड्काको क्रसमा एलिउको हेडर गोलरक्षक किशोर गिरीले पञ्च गर्दै बचाए । ३९औं मिनेटमा पासलाई हम्जातले भेटाएपनि अफसाइड ठहरिए ।

पहिलो हाफको ईन्ज्युरी समयमा स्टेफेनले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । लगत्तै इन्ज्युरी समयमा नै सन्जोक राईले गोल गर्दै थ्री स्टारलाई पहिलो हाफमा २(१ को अग्रता दिलाए । संजोकको गोल जारी लिगको १ सयौं गोल पनि हो । लिगमा योगेश गुरुङले मछिन्द्रका लागि ब्रिगेड ब्वाइज विरुद्ध पहिलो खेलमा नै १ सयौं गोल गरेका थिए । लिगको ५१ औं खेलमा १ सयौं गोल सम्भव भएको हो ।

५१औं मिनेटमा हम्जातले गोल गर्दै थ्री स्टारलाई खेलमा ३-१ को अग्रता दिलाए । ६२औं मिनेटमा कप्तान विक्रम लामाको फ्रिकिकमा हम्जातको हेडरमा मिक्छेन तामाङको भलि प्रहारले पोस्टको गति लिन सकेन । ७३औं मिनेटमा शेर्पाका गोलरक्षक किशोर गिरीको मिस पासमा सन्जोक राईले लाल रमवालाई दिएको पासमा उनी अफसाइड ठहरिए ।

यस जितसँगै थ्री स्टार अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । ८ खेलमा ४ जित, २ बराबर र २ हार बेहोरेको थ्री स्टारको १४ अंक छ । शीर्षस्थानमा रहेको आर्मी र मछिन्द्रभन्दा टोली २ अंकले पछाडी छ । यता शेर्पा भने ८ खेलमा १ जित, ४ बराबरी र ३ हारसहित ७ अंक जोड्दै ११ औं स्थानमा सिमित छ ।

लिग अन्तर्गत शुक्रबार मनाङ मर्स्याङ्दी क्लब र सरस्वती युवा क्लब खेल्नेछन् । दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब र च्यासल युवा क्लब भिड्नेछन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.