योगेन्द्र योगी
१ असार, दोहा ।
कोरोनाबाट समस्यामा परेका प्रथामिकताको आधारमा ओमानबाट नेपालीको स्वदेश फिर्तीका लागि हुने भनिएको दोस्रो उडान तीन दिन अघि सारिएको ओमानस्थित नेपाली दूताबासले जनाएको छ ।
दूतावासले यसअघि जुन २१ अर्थात असार ७ गते हुने भनिएको उडान तीन दिन अघि सारेर जुन १८ अर्थात असार ४ गते हुने जानकारी दिएको छ । दूतावासका अनुसार दोस्रो उडानमार्फत स्वदेश फर्कने १८० नेपालीलाई आइतबार कोरानो जाँच गराउन अनुरोध गरेको गरिएको र कोरोना जाँचका लागि दूतावासले निश्चित ठाउँहरु तोकेको जनाएको छ ।
पहिलो उडान ओमानबाट असार १ गते हुने छ भने एकतर्फी उडानको भाडा ११५ ओमानी रियाल अर्थात नेपाली रूपैया ३६ हजार २ सय ६१ रुपैयाँ तोकेको छ । यो भाडा दर सरकारले स्वदेश फिर्तीका लागि तोकेकोभन्दा सस्तो रहेको छ । नेपाल सरकारले उद्धार उडानका लागि हुने चार्टर्ड जहाजको भाडा तीन पटक घटाएर ओमानका लागि ३६८ अमेरिकी डलरमा झारेको छ ।
कोरोना जाँचको रिपोर्ट अनिवार्य हुनुपर्ने भएकाले दूतवासले त्यस उडानमार्फत नेपाल फर्कने नेपालीले तोकिएको आफूलाई पायक पर्ने ठाउँमा कोरोना जाँच गराउन अनुरोध गरेको छ ।
कोरोना जाँच गरेको नेगेटिभ रिपोर्ट प्राप्त भएपछि टिकटका लागि सलाम एअर कलसेन्टर २४२७२२२२ नम्बरमा सम्पर्क गर्न समेत अनुरोध गरिएको दूतावासले जनाएको छ । कोरोना नेगेटिभ देखिएका नेपाली स्वदेश आएपछि सीधै घर जान पाउने दूतावासले जनाएको छ ।