✍अर्जुन चापागाईं
जसले लामो दूरी पार गर्यो
तिमी र मलाई एउटै गोरेटो मा डोर्याउन
एक अर्काका परिपूरक भई
हात मा हात अनि साथ मा साथ ।
सायद,
तिम्रो आगमनको ब्यग्र प्रतिक्षा थियो
अनेकौं उतार चढाव बीच
जिन्दगी प्रतिकुल परिस्थितिहरुमा दौडिरह्यो
चौबाटाहरुले अल्मलाई रहे ।
तिमी ,
आउदै गर्दा ल्यायौ अथाह खुशी
बषन्तबहार सुन्दर हरियाली
सरल बनायौ सम्पूर्ण यात्रा
कशिलो साथ बीचमा मलाई बाँध्दै ।
देख्छौ नि होइन,
तिमी भन्दा पर केही छैन मेरो
कोही छैन मेरो , कतै छैन मेरो
सुरुवात तिमी बाट हुदै गर्दा
अन्त्य पनि तिमी मा नै छ मेरो ।
केवल ,
सताउँछ केही ले मलाई
त्यो तिम्रो उदास मुहार
तिम्रो ओठबाट हराएको हासो अनि
झर्न खोज्ने तर नसक्ने तिम्रा अश्रुधारा ।
सुन प्रिय ,
तिम्रा हरेक मुस्कान मेरो लागि अमूल्य छन्
तिम्रा हरेक वाणी मेरा लागि अमृत हुन्
तिम्रो केशराशी मेरो खेल्ने ठाउँ
अनि तिम्रो अँगालो मेरो स्वर्ग ।
त्यसैले,
ओइलाउन न देउ त्यो मधुर मुस्कान
मर्न न देउ त्यो मधुर वाणी
बन्चित न बनाउ मलाई आफु बाट
यी सबै मेरा निम्ति अक्सिजन झैं हुन् ।