Nepal Times
Nepal Times
3
Shares

काठमाडौँको तारकेश्वरमा फेरि भेटियो बर्ड फ्लू, साढे १२ हजार बढी कुखुरा नष्ट

काठमाडौँको तारकेश्वरमा फेरि भेटियो बर्ड फ्लू, साढे १२ हजार बढी कुखुरा नष्ट

१४ फागुन, काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा फेरि बर्ड फ्लू भेटिएको छ ।

तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटमा हिजो एकैदिन साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ ।

विक्रम गौतम र कमल गौतमको फार्मबाट ६ हजार ५ सय २५ वटा लेयर्स कुखुरा मारिएको अनुगमन टोलीले जनाएको छ ।

फार्ममा रहेका ३ हजार ५ सय ७० वटा अण्डा र १४ सय ५० किलो दाना पनि नष्ट गरिएको वडा सदस्य अच्युतराज कुँवरले जानकारी दिए । यस्तै नजिकै रहेको सरिता शाहको २ हजार ९ सय ६० वटा ब्रोइलर चल्ला मारिएको छ ।

फार्ममा रहेको ७५० किलो दाना पनि नष्ट गरिएको वडा सदस्य कुँवरले बताए । यसैगरी सम्झना ठकुरी तिवारीको २ हजार ७६ वटा ब्रोइलर र १००७ वटा लोकल कुखुरा नष्ट गरिएको छ । शान्ता खनालले पालेको १०० वटा लोकल कुखुरा र २ वटा टर्की पनि मारेर नष्ट गरिएको छ ।

तारकेश्वर नगरपालिका–१ मा नै यसअघि १४ सयभन्दा धेरै हाँस मारिएको थियो । यस्तै काठमाण्डौसहित सुर्खेतलगायत जिल्लाहरुमा पनि बर्ड फ्लूको सङ्क्रमण देखिएको छ । कुन–कुन ठाउँमा सङ्क्रमण छ भनेर आफूहरुले अध्ययन गरिरहेको पशुसेवा विभागले जनाएको छ ।

बर्ड फ्लूको सङ्क्रमण देखिएपछि मारिएका कुखुराका किसानलाई कसरी क्षतिपूर्ति उपलब्ध गराउने भन्नेबारे प्रमुख जिल्ला अधिकारीसहितको बैठक बसेर निर्णय गरिने र २ देखि ३ महिनाभित्र किसानले क्षतिपूर्ति पाउने तारकेश्वर नगरपालिकाका वडा सदस्य कुँवरले बताएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.