Nepal Times
Nepal Times
3
Shares

काठमाडौंमा तरकारीको भाउ सुनि नसक्नु

काठमाडौंमा तरकारीको भाउ सुनि नसक्नु

पुजा बेल्वासे
१० बैशाख, काठमाडौं । काठमाडौंमा केही दिनदेखि अस्वाभाविक रूपमा बढेको तरकारीको भाउ अझै बढ्न थालेको छ । कोरोनाको बहानामा व्यवसायीले आफूखुसी तरकारीको भाउ बढाउँदा उपभोक्ता भने मारमा परेका छन् ।

व्यापारी र बिचौलियाले आफ्नो स्वार्थका लागि तरकारीको भाउ बढाउने गरेका छन् । तरकारीको भाउ वृद्धिका लागि स—साना कारण नै व्यवसायीका लागि पर्याप्त बन्ने गरेको छ । एक महिनाको अवधिमा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको तरकारीको मूल्यलाई आधार मान्ने हो भने उपभोक्ताको भान्सामा दैनिक प्रयोग हुने हरियो तरकारीको मूल्य अति उच्च रूपमा बढेको छ । हिउँदे तरकारीको सिजन सकिएको छ ।

बर्खे तरकारी जुन परिणाम आई पुग्नु पर्ने थियो, त्यो परिणाममा बजारमा नआई पुगेका कारण तरकारीको मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । सबै तरकारीको मूल्य एक महिना यता महँगिएको हो ।

लामो समयसम्म टिकाउ नरहने तरकारीको मूल्य बजारमा एकाएक आकासिएपछि उपभोक्ता मार्कामा परेका छन । कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका सूचना अधिकारी श्रेष्ठका अनुसार एक महिनाको तरकारी बजार तुलना गर्ने हो भने तरकारी मूल्य आकासिएको छ । किनकि अहिले सिजन अनुसारको तरकारी उत्पादन गर्न नसकेको कारण बजारमा स्वदेशी तरकारी आएको छैन । भारतकै भर परेका छौ,त्यसै कारण मूल्य बढेको हो ।

एक महिना अघि कालीमाटी फलफूल तथा तरकारी बजारमा घिउ सिमी (लोकल)को औसत मूल्य ४५ रुपैयाँ प्रति केजी पर्ने वैशाख ८ गते आई पुग्दा औसत मूल्य १३० रुपैयाँ पुगेको छ । एक महिनामा घिउ सिमी (लोकल)को ८५ रुपैयाँ प्रतिकेजी बढेको छ । त्यस्तै गरी घिउ सिमी (राजमा) र घिउ सिमी (हाइब्रिड)को मूल्य पनि एक महिनामा ५० देखि ५५ को हाराहारीमा मूल्य बढेको छ ।

तरकारी बजारमा सिमीको मात्र भाउ बढेको नभई सबैजसो तरकारीको भाउ बढेको छ । तरकारीको मूल्य थोकमै करिब १८९ प्रतिशतसम्म बढेको छ । फलफूलको मूल्यमा ४१ प्रतिशत सम्मले मूल्य बढेको छ भने खाने तेल, केराउ र कुखुराको मासुको मूल्य पनि आकासिएको छ । त्यस माथि बिचौलिया र खुद्रा व्यावसायीहरुको चलखेलले आम उपभोक्तालाई मार परिरहेको छ । गोरखाकी हीरा थापा बानेश्वरमा सानो तरकारी पसल गर्दै आएकी छन् ।

सधै साँझको समयमा भीड लाग्ने उनको पसलमा ग्राहक अहिले घटन थालेका छन् । ‘तरकारी कालीमाटी मै महँगो छ, हिजो ल्याएको तरकारी अहिलेसम्म बिक्री भइसकेको छैन,’ उनले भनिन्, ‘तरकारी सस्तो हुँदा बरु बिक्री राम्रो थियो। अहिले त थोरैथोरै सबै खालका तरकारी लिएकी छु। बिक्री गर्नै गाह्रो पारेको छ ।’ यता राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनका अनुसार सरकार नियमनमा निरिह हुँदा उपभोक्ताले महंगीको मार खेप्नु परेको छ ।

राज्यको अनुगमन निकाय फितलो भएको कारण बजारको मूल्यमा व्यापारीले मनपरी गरेको उनको बुझाई छ । अहिले तेल,खाद्यवस्तु र तरकारी लगायतको वस्तुहरूमा एकाएक मूल्य बढेको छ । तर अझै पनि राज्य मौन बसेको छ, अनुगमन निकायलाई सक्रिय बनाउन नसकेको कारण उपभोक्ताले मार्का खेपिरहनु परेको उनको भनाई छ ।

समितिको तथ्याकं अनुसार चैत ८ गते देखि वैशाख ८ गतेसम्म हेर्दा न्युनतम तरकारीको मूल्य २० रुपैयाँको हाराहारीमा बढेको छ भने अधिकतम मूल्य हेर्ने हो भने लगभग ९० को हाराहारी बढेको छ । समितिका अनुसार होलसेल मूल्य ४५ रुपैयाँ पर्ने हरियो धनियाँ ८७ रुपैयाँ, ४७ रुपैयाँ पर्ने लोकल काउली बढेर ७५ रुपैयाँ, ५७ पर्ने प्याज हरियो ८७ रुपैयाँ, ६५ रुपैयाँ पर्ने काँक्रो बढेर ९० रुपैयाँ पुगेको छ । यस्तै, तितो करेला,तोरीको साग, परवल, पालुङ्गो साग र अन्य साग र तरकारीको मूल्यमा वृद्धि भएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.