Nepal Times
Nepal Times
3
Shares

काठमाडौं विश्वविद्यालयको ताला अझै खुलेन

काठमाडौं विश्वविद्यालयको ताला अझै खुलेन

१ भदौ, काभ्रे । काठमाडौं विश्वविद्यालयमा प्राध्यापक र कर्मचारीहरुले तालाबन्दी गरेको एघारौं दिन पुगेको छ । तर, ताला खुलाउन पहल नगरी उपकुलपति रामकण्ठ माकाजु नेतृत्वको टोली आइतबार दक्षिण कोरिया भ्रमणमा जाँदैछ ।

माकाजुसँगै डा. विष्णुप्रसाद पाण्डे, डा. संगीता शाक्य र सुनन्दा शर्मा कोरिया जान लागेका हुन् । यसैगरी डा. दीपकप्रसाद सुवेदी, डा. विराजमान कर्माचार्य, शैलेन्द्र कुमार झा, सरोजप्रसाद श्रेष्ठ, बिजेन्द्र श्रेष्ठ र डेजिना श्रेष्ठ भने शनिबार नै कोरिया गइसकेका छन् । माकाजुसहितको टोली भदौ ५ गते र सुवेदीसहितको टोली भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

उनीहरुको विदेश भ्रमण विश्वविद्यालयको कार्यकारी परिषदले अनुमोदन गरेको थियो । परिषदको निर्णयअनुसार उत्तम बुढाथोकीले २ जूनदेखि १२ जूनसम्म भारतको भ्रमण गरेका थिए ।

तालाबन्दी खुलाउन पहल नगरी विदेश भ्रमणमा व्यस्त भएको भन्दै आन्दोलनरत कर्मचारीहरुले विरोध गरेका छन् । विश्वविद्यालयका एक कर्मचारीले भने, ‘ठूलो कार्यक्रम पनि होइन, केही विश्वविद्यालयको अवलोकन गर्नेमात्र हो, तर पनि तालाबन्दी खुलाउन पहल नगरी केही विभागीय प्रमुखहरुसहित विदेश यात्रामा जाँदै हुनुहुन्छ ।’

विश्वविद्यालयले आफूहरुसँग बिभिन्न समयमा गरेका सम्झौताहरु कार्यान्वयन नगरेको भन्दै आन्दोलनरत प्राध्यापक तथा कर्मचारीहरुले विश्वविद्यालयमा तालाबन्दी गरेका छन् । उनीहरुले परीक्षामा पनि सहभागी नहुने निर्णय गरेपछि काठमाडौं विश्वविद्यालयले विद्यार्थीहरुलाई नै गार्ड राखेर अन्डर ग्राजुयट लेभलको फाइनल परीक्षा लिएको थियो ।

आन्दोलनरत प्राध्यापक तथा कर्मचारीले विश्वविद्यालयको अनियमितताको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका मुद्दाहरुको छिटो छानविन गर्नुपर्ने, विश्वविद्यालयमा कार्यकारी परिषदमा रिक्त शिक्षक प्रतिनिधिमा प्राध्यापकहरुले सिफारिस गरेको व्यक्ति नियुक्त गर्नुपर्नेलगायतका माग राखेका छन् ।

आफूहरुको मागबारे उपकुलपतिबाहेक अरुसँग वार्ता नगर्ने अडान उनीहरुले राखेका छन् । सहकुलपतिसमेत रहेका शिक्षामन्त्रीको सचिवालयले पनि विश्वविद्यालयमा लाग्दै आएको तालाबन्दी खुलाउन उपकुलपति माकाजुलाई निर्देशन दिएको थियो । तर, ताला नखुलाई विदेश भ्रमणमा हिँडेपछि विश्वविद्यालय खुल्ने अझै अनिश्चित भएको छ ।

यसअघि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइराला अनुमतिविना क्यानडा जान लागेको भन्दै सरकारले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट फर्काएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.