Nepal Times
Nepal Times
3
Shares

कोरोनाबाट बच्न स्वास्थ्य मापदण्डसहितका सबै नियम पालना नगरे कारबाही

कोरोनाबाट बच्न स्वास्थ्य मापदण्डसहितका सबै नियम पालना नगरे कारबाही

९ वैशाख, काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न स्वास्थ्य मापदण्डसहितका सबै नियम पालना गर्न सरकारले अनुरोध गरेको छ । सरकारले जारी गरेको आदेश पालना नगरे कारबाही हुने गृह मन्त्रालयले सचेत पनि गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले कोरोनाको सङ्क्रमण डरलाग्दो रूपमा बढ्न थालेकाले सरकारले जारी गरेका नियम र मापदण्ड पालना गर्नु सबैको दायित्व भएको बताए ।

घरबाहिर निस्कँदा मास्क लगाउने, विवाह, भोजभतेर र सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी जम्मा हुन नपाइने, सार्वजनिक ठाउँमा क्षमताभन्दा बढी यात्रु राख्न नपाइने लगायतका नियम पालना नगरे कारबाही हुने उनको भनाइ छ ।

उनले इमानदारपूर्वक नियम पालना गर्नु सबै नागरिकको कर्तव्य भएको भन्दै उल्लङ्घन गरेमा कारबाही हुने बताए । नियम कडाइका साथ पालना गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको पनि प्रवक्ता दाहालले जानकारी दिए ।

सरकारले कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिममा रहेका काठमाण्डौ उपत्यका, पोखरा, विराटनगर, भरतपुर, नेपालगञ्ज लगायत सहरी क्षेत्रका विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालनको निर्णय गरिसकेको छ ।

यस्तै सिनेमा हल, दोहोरी साँझ, हेल्थ क्लब, जिमखाना, फुटसल, स्विमिङ पुलसहित मानिसको भिडभाड धेरै हुने ठाउँ पनि वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ ।

साथै मेला, महोत्सव, जात्रा, पर्व, विवाह, मृत्यु संस्कार लगायतका कार्यमा बढीमा २५ जना मात्रै सहभागी हुन पाइनेछ । सभा, सम्मेलन, तालिम, गोष्ठी लगायतका क्रियाकलाप अनलाइन माध्यमबाट गर्नुपर्नेछ ।

होटल तथा रेस्टुरेन्ट बिहान आठ देखि राति आठ बजेसम्म मात्रै खोल्न पाइनेछ । सार्वजनिक गाडीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, स्यानिटाइजर राख्नुपर्ने र यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने नियम छ ।

लामो दूरीमा चल्ने गाडीले सिधै गन्तव्यको लागि मात्रै यात्रु चढाउन पाउनेछन्, बीच बाटोमा यात्रु चढाउन पाउने छैनन् । उनीहरूले गाडीमा यात्रुको जानकारी जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्नेछ ।

तर यी नियम कार्यान्वयन नभएको गुनासो बढेपछि सरकारले अनिवार्य नियम पालना गर्न अनुरोध गर्दै उल्लङ्घन गरेमा कारबाही गर्ने चेतावनी दिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.