Nepal Times
Nepal Times
3
Shares

कोरोनाविरुद्धको खोप अभियान प्रारम्भः आम नागरिकमा उत्साह

कोरोनाविरुद्धको खोप अभियान प्रारम्भः आम नागरिकमा उत्साह

काठमाडौं: नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियान बुधबारबाट सुरु गरिएको छ । पहिलो दिन देशभर नौ हजार ८४ जनाले पहिलोपटक कोरोनाविरुद्धको खोप लगाएका छन् ।कोरोना खोप लगाउन सुरु गरिएसँगै आम नागरिकमा आशा र उत्साह सञ्चार भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले ६४ जिल्लाका ९३ खोप केन्द्रबाट खोप लगाइएको जानकारी दिए । प्राविधिक कारणले बाँकी जिल्लामा खोप सेवा सुरु हुन नसकेको जनाइएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप अभियानको शुभारम्भ गर्दै सबै नेपालीले कोरोनाविरुद्धको खोप निःशुल्क रूपमा पाउने बताए ।

खरिद वा अनुदान जुनसुकै माध्यमबाट प्राप्त भए पनि नेपाली नागरिकलाई खोप निःशुल्क गरिने जानकारी दिँदै उनले तीन महिनाभित्र सबैलाई खोप उपलब्ध गराउने सरकारको नीति रहेको बताएका छन् । प्रम ओलीले बिनाभेदभाव प्राथमिकताका आधारमा सबै नेपालीलाई खोप दिने जनाए ।

सरकारले पहिलो अभियान १० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । मन्त्रालयका प्रवक्ता डा गौतमले खोप कार्यक्रमअन्र्तगत प्रदेश १ मा एक हजार २५५, प्रदेश २ मा ७२६, बागमती प्रदेशमा दुई हजार ६९४, गण्डकी प्रदेशमा एक हजार ८४३, लुम्बिनी प्रदेशमा ७३३, कर्णाली प्रदेशमा ७५१ जना र सुदूरपश्चिम प्रदेशमा एक हजार ८२ जनाले खोप लगाएको जानकारी दिए ।

मन्त्रालयका अनुसार खोप लगाएका व्यक्तिमा हालसम्म कुनै पनि स्वास्थ्य समस्या देखिएको छैन । मन्त्रालयका अनुसार काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल, पाटन अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताललगायतमा खोप अभियान सुरु गरिएको छ ।

यी अस्पतालमा प्रधानमन्त्री ओली र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीका साथै स्वास्थ्य मन्त्रालयका पदाधिकारीले स्थलगत अनुगमनसमेत गरेका छन् ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.