Nepal Times
Nepal Times
3
Shares

कोरोना भाइरस संक्रमितको उपचारका लागि रातारात अस्पताल बनाउँदै चीन

कोरोना भाइरस संक्रमितको उपचारका लागि रातारात अस्पताल बनाउँदै चीन

११ माघ, बेइजिङ ।
कोरोना भाइरस प्रभावितको उपचारका लागि चीनले तीव्र गतिमा छुट्टै अस्पताल बनाइरहेको छ । आउँदो सोमबारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अत्याधुनिक मेसिनहरूको प्रयोग गरी भाइरस उत्पत्ति भएको वुहानमा एक हजार शय्याको अस्पताल भवन निर्माण भइरहेको हो ।

३५ डिगर र १० बुलडोजरसहित भवन निर्माण गर्ने अन्य सयौं मेसिन बिहीबार राति नै अस्पताल निर्माणस्थलमा पुगेको सो पत्रिकाले लेखेको छ ।
अस्पताल सहरबाट अलि पर रहेको ग्रामीण क्षेत्रस्थित ‘होलिडे कम्प्लेक्स’ मा निर्माण भइरहेको स्थानीय ‘चाङझियाङ दैनिक पत्रिका’ ले शुक्रबार लेखेको छ । अस्पताल पूरै प्रिफ्याबरिकेटेड भवनहुने उसले जनाएको छ । २५ हजार वर्गमिटरमा भवन निर्माण हुनेछ ।

‘विद्यमान मेडिकल स्रोतको अभावबाट आउन सक्ने समस्या समाधानका लागि यो अस्पताल निर्माण गर्न लागिएको हो,’ चाङझियाङले लेखेको छ ।निर्माणस्थलमा आफ्ना सयभन्दा बढी कामदार खटिरहेको अस्पताल निर्माण गरिरहेकामध्येको एक कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङले शुक्रबार बताएको छ । आफूले सक्दो गरिरहेको र सरकारले तोकेको मितिभित्रै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको उसले जनाएको छ।

भवन निर्माणका लागि आधार बनाउन हिलाम्मे माटोमा विभिन्न रंग लगाएका दर्जनौं डिगर र निर्माण सामग्री व्यवस्थापनमा कैयौं ट्रकले हतारमा काम गरिरहेको दृश्य राज्य सञ्चालित टेलिभिजनमा प्रसारण गरिएको छ ।

चीनमा सन् २००३ मा ‘सार्स’ का कारण कम्तीमा ८ सय मानिस मरेका थिए । नयाँ अस्पतालले सार्स प्रकोपसँग लड्दाको अनुभवलाई प्रयोग गर्ने उद्देश्य लिएको छ । त्यसबेला पनि बेइजिङले एक साताभित्रै उत्तरी गाउँमा ‘सिआताङ्सान अस्पताल’ निर्माण गरेको थियो । स्थापना भएको दुई महिनाभित्र उक्त अस्पतालले देशमा संक्रमित भेटिएकामध्ये १५ प्रतिशतको उपचार गरेको थियो ।

शनिबार बिहानसम्म नयाँ भाइरसका कारण ४१ जनाको मृत्यु भएको र एक हजार २ सयबढी संक्रमित भेटिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । यसैबीच, पहिलोपटक हुबेई प्रान्तबाहिर पनि दुईजनाको मृत्यु भएको जनाइएको छ ।

एक महिनाकै अवधिमा विश्वका लगभगदर्जन देशमा संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठनले पनि आपत्काल घोषणा गरेको छ । यद्यपि यसलाई अन्तर्राष्ट्रिय तहको महामारी नै भने घोषणा गरिएको छैन ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.