Nepal Times
Nepal Times
3
Shares

कोरोना संक्रमित र मृतकको सबै ठेगाना खुलाउन सूचना आयोगको निर्देशन

कोरोना संक्रमित र मृतकको सबै ठेगाना खुलाउन सूचना आयोगको निर्देशन

६ जेठ, काठमाडौँ ।
राष्ट्रिय सूचना आयोगले कोरोना भाइरसबाट संक्रमित वा मृत्यु भएकाको स्थायी ठेगानामात्रै सार्वजनिक गर्दा अरु विवरण गोप्य रहेको र त्यसले संक्रमणको जोखिम बढाएको भन्दै ठेगाना सार्वजनिक गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

आयोगले संक्रमित र मृतकका ठेगानाले नागरिकमा भ्रम सिर्जना गरेको भन्दै उनीहरुको स्थायी ठेगानाका साथै अहिले बसोबास गरिरहेको ठेगाना उल्लेख गर्न निर्देशन दिएको हो ।

निर्देशनमा भनिएको छ, ‘उनीहरुको स्थायी ठेगाना र अहिले बसोबास गरिरहेको स्थान वा संक्रमण हुँदाको ठाउँ फरक हुन सक्छ एउटामात्रै स्थानका बारेमा उल्लेख गर्दा सर्वसाधारणमा भ्रम तथा अन्योल भएको पाइएको छ । त्यसरी यसरी प्रवाह भइरहेको सूचनामा थप स्पष्ट गराउन आवश्यक छ ।’

अन्योल हटाउन निजी गोपनियताका विषयबाहेक ‘कन्ट्याक्ट ट्रेसिङ’लाई सहज हुने स्थायी ठेगाना र बसोबासका सबै विवरण स्पष्ट पार्न निर्देशन दिएको हो ।आयोगले संक्रमित अनि मृतकका व्यक्तिगत विवरण सार्वजनिक नहुने व्यवस्था मिलाउन आदेश दिएको छ । आयोगले कतिपय अवस्थामा व्यक्तिगत प्रकृतिका सूचना सञ्चारमाध्यम अनि सामाजिक सञ्जालमा सार्वजनिक भइरहेको भन्दै त्यस्ता क्रियाकलाप नगर्न आग्रह गरेको छ ।

त्यसैगरी सूचना आयोगले कोरोना संक्रमण नियन्त्रणसँग सरोकार राख्‍ने विषयमा सूचना प्रवाह गर्न सरकारका लागि १६ बुँदे निर्देशन जारी गरेको छ । आयोगले कोरोना रोकथाम, नियन्त्रण अनि राहतका लागि गरेका कामको नियमित रुपमा सूचना सार्वजनिक गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

विभिन्न निकायको राहत कोषका विवरण र खर्च नियमित रुपमा सार्वजनिक गर्न निर्देशन दिएको छ । विदेशबाट फर्कन चाहने नेपालीलाई त्यसबारे स्पष्ट सूचना सार्वजनिक गर्न निर्देशन दिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.