Nepal Times
Nepal Times
3
Shares

गुण एयरलाइन्सले दशैँअघि नै काठमाडौं-सुर्खेत हवाई उडान गर्ने

गुण एयरलाइन्सले दशैँअघि नै काठमाडौं-सुर्खेत हवाई उडान गर्ने

४ असोज, सुर्खेत ।

निजी क्षेत्रको वायुसेवा कम्पनी गुण एयरलाइन्सले दशैँअघि नै सुर्खेत–काठमाडौं नियमित उडान सुरु गर्ने तयारी थालेको छ । भर्खरै संचालनमा आएको निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले दशैँअघि नै सुर्खेत–काठमाडौं हवाई सेवा संचालन गर्ने तयारी थाले हो ।

देशका पाँचवटा गन्तव्यमा उडान भर्ने गरी गृहकार्य अन्तिम चरणमा पुगेको गुण एयरलाइन्सका प्रवक्ता प्रज्वल थापाले बताए । ‘एयरलाइन्ससँग हाल पाँचवटा जेट इन्जिन र दुईवटा ट्विनअटर जहाज छन्’, उनले भने, ’सुरुवाती उडान सुर्खेत, पोखरा, भरतपुर, चितवन, भैरहवा र नेपालगंजका लागि भर्ने योजना छ ।’

नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लगिसकेकाले केही दिनमा सुर्खेतमा परीक्षण उडान गर्न लागेको प्रवक्ता थापाले बताए ।

‘हाम्रो लक्ष्य भनेकै ग्राहकहरूलाई सस्तो भाडादर कायम गरेर सेवा प्रवाह गर्नु हो’, थापाले भने, ‘यसै पनि कर्णाली पर्यटनका लागि भर्जिन गन्तव्य हो, काठमाडौं आएका पर्यटकलाई सिँधै सुर्खेत पु¥याउन गुण एयरलाइन्स जुट्दै छ । यसले कर्णालीको पर्यटनलाई चिनाउन थप सहयोग पुग्नेछ ।’

सुर्खेत–काठमाडौं र काठमाडौं–सुर्खेत उडान दैनिक एउटा हुने थापाले जानकारी दिए ।

यसभन्दा अघि सुर्खेत–काठमाडौंका लागि बुद्ध एयरले मात्र उडान भर्दै आएको थियो । निजी क्षेत्रको विमान कम्पनी बुद्ध एयरलाइन्सले मात्र सुर्खेत उडान भर्ने गरेकामा अब गुण एयरलाइन्सले उडान भरेमा दुई कम्पनीले सुर्खेत–काठमाडौं, काठमाडौं–सुर्खेतको उडान भर्नेछन् ।

दुई विमान कम्पनीले उडान भरेमा सुर्खेतबाट काठमाडौं र काठमाडौंबाट सुर्खेतको हवाई भाडा सस्तो हुने कर्णालीबासीले विश्वास गरेका छन् ।

बुद्धले हाल सुर्खेत–काठमाडौं उडान भाडा प्रतियात्रु दैनिक आठ हजार १२५, नौ हजार १२५ र ११ हजार रुपेयाँ कायम गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.