Nepal Times
Nepal Times
3
Shares

चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई भारतसँग नजोड्नु : डा. राजन भट्टराई

चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई भारतसँग नजोड्नु : डा. राजन भट्टराई

१५ मंसिर, काठमाडाैँ ।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलाई भारतसँग नजोड्न आग्रह गरेका छन । नेपाल एक स्वतन्त्र मुलुक भएकाले छिमेकीहरुसँगको सम्बन्ध पनि स्वतन्त्र नै हुने भन्दै उनले चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेको नेपाल भ्रमणलाई भारतसँग नजोड्न आग्रह गरेका हुन् ।

चिनियाँ रक्षामन्त्री फेङ्हे आइतबार नेपालको एकदिने भ्रमणमा आएका थिए । रिपोर्टस क्लबमा भएको साक्षत्कारमा डा. भट्टराईले छिमेकीहरुसँग नेपालको सम्पन्ध जहिलेपनि स्वतन्त्र हुने उल्लेख गर्दै त्यसलाई तेस्रो मुलुकसँग जोड्ने गल्ती गर्न नहुने बताए । उनले भने, ‘‘जहिलेपनि हामी स्वतन्त्र मुलुक हौँ । अर्को स्वतन्त्र मुलुकसितको सम्बन्ध स्वतन्त्र नै हो । त्यसलाई तेस्रो मुलुकसँग जोड्ने कुरा अगाडी बढायौँ भने हामी फस्छौँ । त्यो गलत हामीले गर्नुहुँदैन । नेपाल भारतको सम्बन्ध दुई मुलुकको स्वतन्त्र सम्बन्ध हो । नेपाल र चीनको सम्बन्ध पनि दुई मुलुकको सम्बन्ध हो । अन्य जुनसुकै मित्रराष्ट्रहरुसँगको सम्बन्ध पनि हाम्रो स्वतन्त्र सम्बन्ध हुन्छ ।’’

डा. भट्टराईले नेपाली सेनालाई वार्षिक रुपमा चीनले दिँदै आएको सहयोगको निरन्तरता बाहेक अन्य कुनै गतिविधि नभएको उनले बताए । उनले भारतसँग सीमा विवाद लगायतका विषयमा परराष्ट्रमन्त्री स्तरीय जोइन्ट कमिसनको बैठक डिसेम्बर महिनाभित्र नै सम्पन्न हुने पनि बताए । उनले पार्टीभित्र देखिएको विवाद समाधानका लागि सम्बन्धित कमिटीहरुमा छलफल गरी टुंगोमा पुग्नुपर्ने बताए ।

पूर्व रक्षामन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधानले चीन र भारत दुबै देशलाई सँगै लिएर नेपालले आफ्नो हितका लागि काम गर्नुपर्ने बताए । नेपाल कुनै पनि देशतिर नढल्केर कुनै पनि देशको अहित हुने काम नगरेर आफ्नो उन्नति गर्नतिर लाग्नुपर्ने उनले बताए ।

उनले चीन र भारत दुबै देशलाई आफ्नो विश्वासमा लिएर काम गर्नुपर्ने पनि बताए । नेपालले युद्धको अवस्था ल्याउन दिन नहुने उल्लेख गर्दै उनले भने, ‘‘हाम्रो सेनाको प्रयोग र सबभन्दा बढि सदुपयोग भनेको नै युएन पिसकिपिङमा मात्रै हो, नेपालको सिमामा सेनाले त्यति चासो दिएको छैन् । त्यहाँ प्यारामिट्री फोर्स र सशस्त्र प्रहरी बस्छ । सेना डाईरेक्ट जानुपनि हुँदैन् । युद्धै भएको अवस्थामा मात्रै जाने हो । नेपालले युद्धको अवस्था ल्याउन दिनुपनि हुँदैन् । सुगौली सन्धिमा हामीले धेरै गुमायौं नि । हाम्रो रणनीति भनेको नै भारत र चीनलाई विश्वासमा लिएर नै नेपालको हितमा सम्बन्ध उपयोग गर्ने हो । नेपालले एक अर्काविरुद्ध प्रयोग गर्नुहुँदैन् ।’’

नागरिक अगुवा सुन्दरमणि दिक्षितले नेपालका राजनीतिक दल र नेताहरुलाई आफ्नो व्यक्तिगत स्वार्थभन्दा देशको हितका लागि सोचेर अगाडी बढ्न आग्रह गरे । दुई ठूला विकसित देशहरुको बीचमा रहेको नेपालले दुबै देशसँग सुमधुर सम्बन्ध बनाएर अगाडी बढ्न सके मात्रै प्रगति गर्न सकिने भएकाले व्यक्तिगत स्वार्थमा केन्द्रित नहुन उनले आग्रह गरे ।

उनले भने, ‘‘नेपालीहरुले अलिकति बुद्धि लगाउन सक्यौँ भने । आफ्नो स्वार्थ र पार्टीको स्वार्थ छोडेर यी दुई मुलुकसँग फाइदा लिन सक्यौँ भने केही सिक्याँै भने हामी धेरै माथि जान सक्छौँ । दलका नेताहरुले आपसको हित हेरेर चीन र भारतलाई लडाएर, झगडा गराएर आफ्नो पार्टीलाई मात्रै फाइदा हुनेगरी अगाडी बढे नेपालको फल प्राप्त गर्दैन । त्यो फल प्राप्त गर्न सकिएन भने हम्रो दुर्भाग्यपूर्ण अवस्था हुने छ ।’’

उनीहरुले आफ्नो देशको हितलाई हेरेर चीन र भारतसँगको सम्बन्ध विस्तार गरी अगाडी बढाउनुपर्नेमा जोड दिएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.