Nepal Times
Nepal Times
3
Shares

चिया प्रवर्द्धनमा स्थानीय तह सक्रिय

चिया प्रवर्द्धनमा स्थानीय तह सक्रिय

१३ मंसिर, झापा ।
पछिल्लो समय चियाको प्रवद्र्धनका लागि स्थानीय तहमार्फत विभिन्न काम भइरहेका छन् ।

कहिले ‘चियाको एक्स्पो’भन्दै विभिन्न जिल्लामा लगिन्छ भने कहिले चियाकै लागि विदेशी पर्यटक भित्र्याइन्छ । यस्तै, पछिल्लो समय त चियाको प्रचारका लागि कतै मूर्ति र शालिक बनाउने क्रम बढेको छ ।

यी कार्यबाट लामो समय प्रचारप्रसार नपुगेर गुमनाम रहेको चिया क्षेत्र केही माथि उठ्ने चिया सरोकारवालाको भनाइ छ । एक वर्ष अघि मात्रै सूर्योदय नगरपालिकाले चियाको शालिक बनाएको छ ।

बजारभित्रै निर्माण गरेको स्ट्याचुमा पहेलो रङको कित्ली (चियादानी)बाट पहेलो रङको कपमा चिया हालिराखेकोछ । बजार क्षेत्रमा बनाइएको स्टा्याचुले चियाको प्रचार गर्ने अनुमानले निर्माण गरिएको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईको भनाइ छ ।

जिल्लाकै सबैभन्दा बढी चिया उत्पादन हुने सूनपामा श्रमिक, उद्योगी र किसानका लागि चिया नियमावलीसमेत निर्माण गरिएको छ । नगरले चिया सचिवालयसमेत गठन गरेको छ ।

यसले गर्दा पनि नगरपालिकामा आएको चियाका समस्या हल गर्न सहज भएको नगरप्रमुख राईको भनाइ छ । आउँदा दिनमा पनि चियाको प्रोत्साहनका लागि दृश्य सामग्री बनाउने काम बढाइने उनको भनाइ छ ।

यस्तै, इलाम नगरपालिकाले पनि चिया क्षेत्रको प्रोत्साहनका लागि इलाम बजार(चोक बजार)मा चियाकै साङ्केतिक स्तम्भ निर्माण गरेको छ । तस्वीरमा एक महिला पछाडि डोको बोकेर चिया टिप्दै गरेको देखिन्छ ।

जहाँ महिलाले लगाएको लुगा र हाउभाउ हेर्दा ग्रामीण भेगमा चिया टिप्दै गरेकोजस्तो देखिन्छ । नगरका सूचना अधिकारी रामकुमार शाहका अनुसार सो स्तम्भ तामा र पित्तलबाट निर्माण गरिएको हो ।

नगरले चियाको प्रवद्र्धनका लागि चियाको बिरुवा रोपण शुरु गर्ने गजराजसिंह थापाको (शालिक) प्रतिमा समेत निर्माण गर्दैछ । इलामकै सबैभन्दा पुरानो इलामको चियाबारीको बीच लभडाँडामा सोही प्रतिमा निर्माण गर्न थालिएको हो ।

विसं १९२० मा वडाहाकिम मिश्रले चीनबाट चिया ल्याएर रोपेको इतिहास छ । नगरले चियाको इतिहास सम्झाउनका लागि पनि मिश्रको प्रतिमा निर्माण गर्न थालेको सूचना अधिकारी शाहको भनाइ छ ।

शाहका अनुसार आउँदो मङ्सिर २५ मा सोही शालिकको उद्घाटन हुँदैछ ।(रासस)

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.