१२ मंसिर, सोलुखुम्बु ।
गर्मी सिजनमा हिमाली भेगमा गएका भेडागोठ विस्तारै जाडो बढेसँगै हिमालतिरबाट तल्लो भेगमा झर्न थालेका छन् । जाडो बढेकाले भेडागोठहरु तल्लो भेगमा झारिएको साल्मेको जङ्गलमा भेटिएका ओखलढुङ्गाका भेडापालक व्यवसायी जीतबहादुर गुरुङले बताए ।
सोलुखुम्बुको मुक्ली, सल्यान तथा ओखलढुङ्गाका गुरुङ तथा राई जातिहरुले पुस्तौँ अघिदेखि अङ्गाल्दै आएको भेडापालन व्यवसाय अन्य व्यवसाय जस्तो एक ठाउँमा मात्र राखेर गर्न नहुने भएकाले सिजनअनुसार तराईदेखि हिमालसम्म डुलाउनुपर्ने भेडापालक बताउँछन् ।
‘यो पेशा निकै कठिन छ, कहिले हिमाल त कहिले तराई पुग्नुपर्ने हुन्छ, परिवार, चाडपर्व केही भन्न पाइन्न’ सोलुखुम्बुको सल्यान–५ का एकमात्र राई भेडापालक जकसेर राईले भने। भेडापालनबाट राम्रै आम्दानी गर्न सकिने भएपनि निकै कठिन भएकाले नै पछिल्लो युवापुस्ताले त्यसतर्फ मन नलगाएको र पेशा नै सङ्कटमा पर्दै जान थालेको उनको भनाइ छ । अहिले हिमालमा चिसो शुरु भएकाले मध्य पहाडी भेगका जङ्गलहरुमा अधिकाँश भेडागोठहरु झर्दै गरेको पाइन्छ ।
मुक्लीका परशुराम गुरुङले चिसो सिजनमा पहाड हुँदै तराईसम्म भेडा गोठ लाने र फेरी गर्मी सिजन हुरु भएपछि क्रमशः फर्काउने बताए । भेडालाई धेरै चिसो र धेरै गर्मी हुनु हुदैन, तापक्रमअनुसार गोठ सार्नुपर्छ–उहाँले भन्नुभयो । मुख्यतः पुर्वी पहाडका गुरुङ जातिहरुको पुख्र्यौली पेशा मानिएको भेडापालन व्यवसाय घट्दै गएको भए पनि केहीले अझै आफ्नो पेशालाई निरन्तरता दिइरहेका छन् ।
पछिल्लो समयमा सामुदायिक वनको आफ्नै किसिमका नीति नियमका कारण पनि व्यवसायमा असर पर्न थालेको तथा युवा पुस्ताले सो पेशालाई आफ्नो रोजाइमा नपारेपछि व्यवसायनै धरापमा पर्न लागेको भेडापालकहरुको भनाइ छ ।
भेडाको ऊनबाट आतिथ्य सत्कारका लागि ओछयाउने राडी तथा जाडो याममा चिसोबाट बच्न सिरकको रुपमा प्रयोग गरिने पाखी तयार गरिन्छ । हिन्दु धर्मवालम्बीहरुका लागि त कतिपय धार्मिक संस्कारमा राडी आवश्यक हुने भएकाले यसको महत्व रहेको जानकारहरु बताउँछन् ।