८ चैत ,एजेन्सी ।
चीनले २०२७ मा ताइवानमाथि आक्रमण गर्ने क्षमता हासिल गर्नेगरी तयारी गरिरहेको अमेरिकी सेनाका एक कमान्डरले बताएका छन् । अमेरिकी संसदको आर्म्ड सर्भिस कमिटीमा बयान दिँदै इन्डो प्यासिफिक कमान्डका कमान्डर एड्मिरल जोन अकिलिनोले बुधबार यस्तो बताएका हुन् । चीनको रक्षा बजेट बढेर २२३ अर्ब डलर पुग्नु र दोस्रो विश्वयुद्ध समाप्तिपछि कहिल्यै नदेखिएको गतिमा उसले सेना र आणविक हतियार निर्माण गर्नुले त्यही देखिएको उनको भनाइ छ ।
आफूले अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमान्ड सम्हालेको तीन वर्षमा चिनियाँ जनमुक्ति सेनाले ४ सय वटाभन्दा बढी लडाकु विमान र २० वटाभन्दा बढी ठूला युद्धपोत थपेको उनको भनाइ छ । त्यस्तै, चीनले २०२० यता ब्यालिस्टिक र क्रुज क्षेप्यास्त्रको संख्या पनि दोब्बर पारेको अकिलिनोले बताए ।
‘सबै संकेतहरुले के देखाउँछन् भने राष्ट्रपति सी जिंगपिङको निर्देशनअनुसार पीएलए २०२७ सम्म ताइवान आक्रमणका लागि तयार हुँदैछ,’ उनले भने, ‘आदेश आए ताइवानलाई मुख्यभूमिसँग बलपूर्वक एकीकरण गर्ने क्षमता त्यो अवधिमा हासिल गर्न तयार हुँदै गरेको पीएलएका गतिविधिले देखाउँछन्।’ ताइवानमाथि आक्रमणको सैन्य अभ्यास पनि चिनियाँ सेनाले गरिरहेको उनको भनाइ छ ।
राष्ट्रपति सीले २०२७ सम्ममा चिनियाँ सेना ‘उत्तम सेना’ बनाउने लक्ष्य राखेका थिए । यसलाई लिएर अमेरिकी सांसद, सरकारी अधिकारी र सैन्य कमान्डरहरुले अनेक आकलन गर्दै आएका छन् । चीनले २०२७ मा ताइवान कब्जा गर्नसक्ने अड्कल पनि गरिँदै आएको छ । अकिलिनोले एक वर्षअघि त्यो अड्कल मात्र भएको बताएका थिए । तर, चीनले ताइवानसँग सैन्य द्वन्द्व नचाहेको अमेरिकी गुप्तचर निकायको निष्कर्ष छ ।